६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

त्रिविमा रहेको अनेरास्ववियु र मैले चिनेको मदनकुमार

-क्षितिज भण्डारी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु’ नेपालको सबैभन्दा ठूलो विद्यार्थी आन्दोलनको नेता सङ्गठन हो । गुणस्तरीय शिक्षा, व्यावसायिक शिक्षा र शैक्षिक परिवर्तनका लागि वि.सं. २०२२ जेठ १ गते यस सङ्गठनको स्थापना भएको हो । स्थापनाकालदेखि वर्तमानमा समयसम्म यसले राष्ट्रियता, समता एवम् उद्यमशील शिक्षा, असमान शिक्षा प्रणालीभित्रका विभिन्न शैक्षिक विकृति एवम् विसङ्गति, अनियमितता, जनजीविका, र अधिकार प्राप्तिको आन्दोलनको पक्षमा सदैव आवाज बुलन्द पार्दै आइरहेको कुरा सर्वविदितै छ ।वर्तमान शैक्षिक प्रणालीमा देखापरेका कसिङ्गरहरूलाई बढारेर शैक्षिक क्षेत्र स्वच्छ, सफा र निर्मल पारी वैज्ञानिक, व्यावसायिक र गुणस्तरीय शिक्षाका लागि अझैँ विद्यार्थी आन्दोलनको औचित्यता कायमै रहेको पुष्टि हुन्छ ।

विद्यार्थीहरूलाई सङ्गठित गरेर शैक्षिक आन्दोलनलाई उपलब्धिको शिखरमा पुर्याउने जिम्मेवारी फेरी इतिहासले अनेरास्ववियुको काँधमा सुम्पेको छ । उक्त महत्वपूर्ण जिम्मेवारी निर्वाधरूपमा पूरा गर्नुपर्दछ ।अनेरास्ववियु यतिबेला \”निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियू निर्वाचनमा हाम्रो सरोकार !!\” भन्ने मूल नाराका साथ आफ्नो २३औँ राष्ट्रिय महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको छ । यो अधिवेशनले शैक्षिक क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिलाई निमिट्यान्न पारी वैज्ञानिक, व्यावसायिक र गुणस्तरीय शिक्षाको जग बसाल्ने नेतृत्व प्रदान गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्दछ । यसका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र जेठो विश्वविद्यालय हो । यो विश्वविद्यालय र विद्यार्थी आन्दोलनका बिचमा विभिन्न कालखण्डमा विभिन्न उतारचढावसँगै गहिरो सामिप्यता पनि कायम रहेको छ । यो विश्वविद्यालयभित्र जरा गाडेर बसेका विभिन्न शैक्षिक विकृति र विसङ्गतिसँग जुधेर यहाँको शैक्षिक उन्नयनका लागि निरन्तर डेढ दशकदेखि सङ्घर्षरत हुनुहुन्छ अनेरास्ववियुका नेता क. मदनकुमार विष्ट ।विश्वविद्यालय क्याम्पस कीर्तिपुर उच्च शिक्षा अध्ययन गर्ने अभिलाषा बोकेर आउने देशभरिका विद्यार्थीहरूको प्रमुख अध्ययन केन्द्र बनेको छ । विष्ट यसमा अध्ययनरत विद्यार्थीहरूका हरेक सुख दुःखका सारथी बन्ने गरेका छन् ।

उनले विद्यार्थीहरूलाई केन्द्रीय क्याम्पसमा प्रवेश गरेदेखि पठनपाठन सकेर प्रमाणपत्र हातमा लिई घर नफर्कुन्जेलसम्मका हरेक गतिविधिमा आवश्यक सहजीकरण गर्दै आइरहेका छन् ।मदनकुमार विष्ट मिजासिलो स्वभावका धनी, खुला हृदय, फराकिलो छाती तथा सहयोगी भावनाका प्रतिमूर्ति हुन् । उनी हरेक विद्यार्थीका सुख दुःखका सहयात्री बन्ने गरेका छन् । उनको सम्बन्ध विद्यार्थीसँग मात्र होइन विश्वविद्यालयका हरेक सङ्काय र तिनका विभागहरूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूसँग पनि उत्तिकै सुमधुर र घनिष्ट रहेको छ ।

विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागू हुँदादेखि सेमेस्टर प्रणालीलाई व्यवस्थित गर्न, विश्वविद्यालयमा शैक्षिक पठनपाठनलाई नियमित सुचारु गर्न, केन्द्रीय पुस्तकालयलाई व्यवस्थित बनाउन, खुला प्रतिस्पर्धाबाट प्राध्यापक नियुक्त गर्न दबाब दिन, परीक्षा र मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गर्न, विद्यार्थीहरूलाई छात्रावासमा उचित प्रबन्ध मिलाउनमा सहजीकरण गर्न, पनिका बल्खुमा आइपर्ने समस्या समाधान गर्न, विद्यार्थीहरूका अन्तरनिहित प्रतिभालाई प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि सहजीकरण गर्ने लगायतका अनेकौँ मुद्दाहरूको बारेमा त्रि. वि. प्रशासनसँग मुकाबिला गर्दै विद्यार्थीहरूका हक अधिकारका लागि निरन्तर लड्दै आइरहेका छन् ।

अनेरास्ववियु, त्रि.वि. र मदनकुमार एकअर्काका पर्यायवाची जस्तै बनेका छन् । विष्टकै नेतृत्वमा विश्वविद्यालयका शैक्षिक रूपान्तरणका अनेकौँ आन्दोलनहरू भएका छन् भने ती आन्दोलनबाट प्राप्त उपलब्धिहरूले त्यहाँको शैक्षिक विकासमा थप टेवा पुर्याएको छ । लामो समयदेखि व्यक्तिगत स्वार्थका कारण विश्वविद्यालयमा तालाबन्दी गरेर अनिर्णयको बन्दी बनाई पठनपाठन थप्प पार्ने र विद्यार्थीको भविष्य अन्योलमा पारिरहने शक्तिसँग त्यसका विरुद्धमा उनी लडाई लडिरहेका छन् ।

“तालाबन्दी गरेर विश्वविद्यालय र विद्यार्थीहरूको भविष्य अन्धकार गर्नुभन्दा वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्छ । बन्द र हड्ताल शैक्षिक संस्थामा सदाका लागि अन्त्य गरिनुपर्छ ।\” भन्ने उनको भनाई रहेको छ । विश्वविद्यालयलाई शैक्षिक प्राज्ञिक थलोको रूपमा अगाडि बढाउन आवश्यक छ । यसका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विश्वविद्यालय र विद्यार्थीहरूको हितलाई सर्वोपरि ठानेर निरन्तर अगाडि बढ्दै आएका कारण विष्ट विद्यार्थीहरूमाझ लोकप्रिय विद्यार्थी नेताका रूपमा परिचित बन्दै गइरहेका छन् ।

अबको विद्यार्थी आन्दोलनलाई गति प्रदान गर्नका लागि, शैक्षिक क्षेत्रको उन्नयनका लागि, विगतको समीक्षा गर्दै वर्तमानको नक्साङ्कन गरेर भविष्यको मार्गचित्र कोरेर अखिललाई अगाडि बढाउनका लागि मदनकुमार विष्ट जस्ता विद्यार्थी नेताहरूको सङ्गठनलाई खाँचो छ । आसन्न अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट विष्ट जस्ता विद्यार्थीमाझ लोकप्रिय नेतालाई गुटगत मानसिकताभन्दा माथि उठेर नेतृत्व पङ्क्तिमा छनोट गर्न सक्यौँ भने मात्र विद्यार्थी आन्दोलनलाई उचाईमा पुर्याएर अखिलको विरासतलाई जोगाउन सकिन्छ ।

यस अधिवेशनले सच्चा, इमानदार, सङ्गठनप्रति बफादार, नैतिकवान, सहयोगी, क्षमतावान् र हरेक कठिन परिस्थितिको सामना गरेर अगाडि बढ्ने दृढ सङ्कल्प बोकेका नेता र नेतृत्व छनौट गर्न सकोस्, यसमा सबै प्रतिनिधिहरूको ध्यान जाओस् । कर्मशील विद्यार्थी नेताहरूला उचित जिम्मेवारी पाऊन् । अन्त्यमा २३ औँ राष्ट्रिय अधिवेशनको सम्पूर्णमा हार्दिक शुभकामना …!!!

( भण्डारी विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका पूर्व विद्यार्थी हुन् ।)

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १७:५६