२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

रवि लामिछाने ढोका खुला देखेर संसदमा पसेका व्यक्ति हाेइनन्ः केपी ओली

२२ माघ, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे एउटा प्रक्रियागत त्रुटीका कारण उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमेको बताएका छन्।

आइतबार बसेकाे प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै ओलीले भने, ‘रवि लामिछानेसँग मेरो कुनै सांगठानिक र वैचारिक सम्बन्ध छैन। नाता-सम्बन्ध पनि छैन, उहाँ मेरो पार्टीको पनि होइन तर सर्वोच्च अदालतले उहाँका विषयमा गरेको फैसला मैले बुझ्न सकेको छैन।’

लामिछाने संसदको ढोका खुला देखेर संसदमा पसेका व्यक्ति नभएको भन्दै उनले भने, ‘निर्वाचन आयोगले उम्मेदवार हुन योग्य ठानेको र जनताले अत्याधिक मतसहित जिताएको व्यक्ति हो,’ ‘एउटा प्रक्रियागत त्रुटीका कारण सबै गुम्यो र ठूलो धक्का लाग्यो।’

उनले भने, ‘उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ? के अन्याय पर्‍यो उनलाई? असम्बन्धित व्यक्तिले उजुरी गरेको छ,’ ओलीले भने,‘ यस फैसलाबाट कसले न्याय पायो भन्ने मैले बुझिनँ ? कसले मर्काबाट उन्मुक्ति पायो ?’

उनले प्रश्न गर्दै भने, ‘प्रक्रियागत त्रुटीका कारणले सांसद गयो, पार्टी अध्यक्ष, सांसद, गृह मन्त्री गयो। रवि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो? यो फैसला बुझिनसक्नु खालको लाग्यो। यसको कानुनी सिद्धान्त के हो? किन यस्तो फैसला गरेको होला?’ ओलीले सर्वोच्चको फैसलाले गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्ति र लगानी के हुने भन्ने पनि अन्यौल भएको बताए।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १५:४५