कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा
१९ माघ, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज माघ १९ गते बिहीबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडाैंकाे नक्सालस्थित कार्यालयमा बिहान ९ः३० बजे आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो।
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन्।
उक्त आईपीओमा अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९६९ आवेदकले कुल १ करोड ६६ लाख ७० हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ६५ हजार ७६३ आवेदकबाट परेको १ करोड ६५ लाख ६६ हजार २३० कित्ता सदर भएको छ भने बाँकी ८ हजार २०६ आवेदकबाट १ लाख ४ हजार ७६० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ८९ हजार ६४० जनाले सेयर हात पारेका छन्। भने १३ लाख ७६ हजार १२३ आवेदकको हात खाली भएको छ।
आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ। बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइट https://nabilinvest.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र कालिन्चोक दर्शन लिमिटेडको वेबसाइट https://kalinchowkdarshan.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १०:५९












