भरतपुर अस्पतालमा भेन्टिलेटर नबन्दा नवजात शिशुको मृत्यु
१२ असोज, चितवन । चितवनकाे भरतपुर अस्पतालमा नियो न्याटल भेन्टिलेटर नबन्दा एक नवजात शिशुको मृत्यु भएको छ । नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते नवजात शिशुको मृत्यु भएको हाे ।
भरतपुरकी उमा तामाङकी नवजात शिशुको भेन्टिलेटर नहुँदा निधन भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएर नवजात शिशुलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारका क्रममा शिशुलाई भेन्टिलेटरको आवश्यकता देखिएको र सो सुविधा नहुँदा शिशुलार्इ बचाउन नसकिएको अस्पताल स्राेतकाे दाबी छ ।
भरतपुर अस्पतालमा यसअघि २ वटा नियो न्याटल भेन्टिलेटर थियो । एउटा केही महिनाअघि नै बिग्रेको र अर्काको पनि सेन्सर गएकाले दुवैले काम गरेका छैनन् । २ वटा भेन्टिलेटर बिग्रिए पनि स्वास्थ्य महाशाखाले केही महिनाअघि नै भरतपुर अस्पताललाई थप ४ वटा नियो न्याटल भेन्टिलेटर पठाएको थियो । अस्पताल प्रशासनले यसको जडानका लागि कुनै तदारूकता नदेखाउँदा ती प्रयोगविहीन छन ।
भरतपुर अस्पतालमा दैनिक ४० जनाले सुत्केरी सेवा लिँदै आएका छन् । यतिका संख्यामा सुत्केरी गराउने अस्पतालको एनआईसीयू सेवा भने अति नै कमजोर छ । यो उपकरण नहुँदा एनआईसीयूमा उपचाररत नवजात शिशु जोखिममा पर्दै आएका छन् ।
अहिले एनआईसीयूमा रहेका १२ जना नवजात शिशुमध्ये ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताए । गत भदौ २१ गते यसै अस्पतालमा पीआईसीयू सुविधा नहुँदा मंगलपुरका एक बालकको सर्पदंशको कारण मृत्यु भएको थियो ।
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १२:२२