१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

संसदमा एकात्मक शासन व्यवस्थाका पैरवी गर्नेहरुलाई लखेटौँ !

-सरोजकुमार तामाङ

हिजो संसदमा सत्तापक्षकै सांसदहरु संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे फरक-फरक अभिव्यक्तिका साथ प्रस्तुत हुनु भनेको सत्ताको निम्ति जुन घाटको पानी पिउन पनि तयार प्रचन्डको स्वार्थी राजनीतिको उपज हो । आफूलाई संघीयता, गणतन्त्र र धर्मनिरपेक्षको जननी सम्झने प्रचन्डले आफ्नै सरकारभित्रका सांसदहरुलाई यो व्यवस्थासँग प्रत्यक्ष जोडिएका मुद्दाहरुमा लगाम नलगाउने हो भने जुनसुकै बेला पनि यो व्यवस्था खतरामा पर्दैन भन्न सकिन्न् । अब यसरी सरकारपक्षकै सांसदहरु भनाभन, आरोप र प्रत्यारोपमा खुल्मखुला उत्रने हो भने प्रतिपक्षको भूमिका संसदमा किन चाहियो ?

जनताले लडेर ल्याइएको यो व्यवस्थाका हाँगाविगाहरु संघीयता, गणतन्त्र र धर्मनिरपेक्षाको बिरुद्ध आवाज उठाउने हिम्मत कसैले गर्छ भने त्यो व्यवस्था बिरोधी हो । जुन व्यवस्थामा टेकेर संसदभित्र छिरेका छन, आज त्यही बिरुद्ध बोल्नेहरुलाई तत्काल कार्वाही हुनुपर्छ ।

जनमतले सत्तासीन हुने तर त्यही जनतालाई शताब्दीऔंदेखी शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचारमा बाच्न विवश तुल्याउने विगतका त्यही सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्यसत्ताको पक्षमा पैरवी गर्छ भने त्यस्ता सामन्ती, निरंकुश शासन व्यवस्थाका आधार र अवशेष ज्ञानेन्द्र शाही राउटे र धवलशमशेर राणाहरुलाई तुरुन्त जनताको सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न संसदबाट लखेट्नु पर्छ ।

हिजोको राज्यको विभेदकारी नीतिले गर्दा मुलुकमा कर्णाली प्रदेश विकासको हिसाबले पछि परेको ज्ञानेन्द्र शाही जस्ता राउटेले कहिले बुझ्ने ? स्मरणरहोस् आज संसदमा कर्णालीको बलियो प्रतिनिधित्व प्राप्त गर्न सक्ने हैसियतको दर्जा प्रदान गर्ने पनि यही शासन व्यवस्था हैन र ?

सामाजिक पंचायतको नाममा निर्दलीय पंचायती व्यवस्था महेन्द्र शाहले जनतालाई थोपारेर राज्यको असमान विकास गर्ने त्यही मृत शासन व्यवस्था उल्टाउन के ज्ञानेन्द्र शाह र धवलशमशेर राणालाई जनताले गत निर्वाचनमा मत जाहेर गरेको हो र ? यदि तिमीहरुले जनताप्रति जनताकै शासन व्यवस्थाको मुद्दा उठान गर्ने हो भने निरंकुश हैन, सामाजिक पंचायती व्यवस्थाको कुरा गर ! त्यसको पक्षमा हामी पनि आवाज बुलन्द गर्न तयार छौं । हैन भने यो शासन व्यवस्थामा कुनै सिमित व्यक्तिको पक्षमा पैरवी गर्ने छुट छैन् । वास्तवमा मुद्दा शासन व्यवस्थाको पनि हैन् । खास मुद्दा त वर्गीय लडाईको हो ।

सिमित हुनेखानेहरुले असिमित हुँदाखानेहरुलाई शोषण, दमन, उत्पीडन लगायत विभिन्न सामाजिक विभेदकारी नीतिहरु अवलम्वन गर्दै राज्यविहिन बनाए । राजनीतिक र आर्थिक दायित्वका भारीहरु बोक्न लगाए । जनताको मौलिक हक र अधिकार खोसेर दास बनाए । यी बिषयहरुमा हाम्रा विचौलिया कम्युनिष्ट प्रधानमन्त्री प्रचन्डको ध्यानाकर्षण भएको छ कि छैन ? हिजो सत्ताको चावी नपाउँदासम्म केपी ओलीलाई प्रतिगमनको बिल्ला भिराउने मस्तबहादुर प्रचन्ड आज आफ्नै सरकारमा सामेल सांसदहरुले यो व्यवस्थाको बिरुद्ध बोल्दा पनि लगाम लगाउन सक्दैन भने त्यो प्रतिगामी र प्रतिक्रान्ति होइन् र ?

भरखरै जनमतबाट अनुमोदित दलहरुलाई प्रतिगमनको मार्ग समात्ने छुट छैन् । भूलबस बाटो बिरायो भने देखाउनुपर्छ तर नियतवस बाटो बिराउँदै जानेहरुलाई दण्ड र कार्वाहीको भागिदार बनाउनै पर्छ । हैन, सत्तामै मस्त रहने हो भने यस्ता एकलकाँटे स्वरहरु भोली प्रतिगामी शक्तिको भजनमण्डलीमा परिन्त हुँदैन भन्ने ग्यारेन्टी छैन् । वास्तवमा सक्रिय राजतन्त्रका भूतहरु संसदमा सवार हुनुमा जनमतकै कमाल हो । विगतमा सत्ताकै वरिपरी घुम्ने र रम्ने प्रवृत्तिको कारणले गर्दा जनतामा निरास पैदा हुनु स्वभाविकै हो । त्यो निरासपनलाई आशातित पार्न जनपक्षीय मुद्दाहरुलाई सडकदेखी सदनसम्म राज्यको निर्णायक तहहरुमा स्थापित गर्न ढिलो नगरी आजैबाट संघीयता, गणतन्त्र र धर्मनिरपेक्षका समर्थकहरुले देखिने गरी काम गरौं ।

विगतका शोषक, सामन्ती र अहिलेका दलाल नोकरशाही पुँजीवाद, साम्राज्यवाद र वैदेशिक एकाधिकारवादले टाउको उठाउने जमर्को नगरुन् । त्यसका निम्ति अब सामाजिक क्रान्ति हैन, वैचारिक समाजवादी क्रान्ति गरौं । जसले गर्दा राष्ट्रिय पुँजीको निर्माणसँगै मुलुक समृद्धि र स्वाधीन अर्थतन्त्रतर्फ अग्रसर होउन् । वोल्सेभिक पार्टी एवम् विश्व सर्वहारावर्गका महान नेता क. लेनिनले कहिकतै भन्नु भए झैं हामी हाम्रा वर्गीय दुश्मनहरुसँग शान्तिपूर्ण तरिकाले वैचारिक लडाई लड्न सक्छौं । त्यो समय यही हो । हाम्रा संगठन र जनसंगठनहरुलाई चुस्त र दुरुस्त राख्दै जनजिविकाका सवालहरुलाई आत्मसात गर्दै अन्तिम निर्विकल्प लक्ष्यको निम्ति निर्णायक वैचारिक लडाई लडौं । यो बेला हामी अवस्य पनि थाकेका हैनौं ।

हामी शान्तिपूर्ण बाटोबाट हाम्रा गन्तव्यहरुमा पुग्ने गृहकार्य गर्दै जानुपर्छ । शान्तिपूर्ण राजनीतिक अवस्थाहरुमा पनि भीषण वैचारिक बहसहरु भने आन्तरिक रुपमा जिवित्तै रहेको हुन्छ । जनताका मुलभूत एजेन्डाहरु छोड्ने चेष्टा नगरौं । एकको पतनसँगै दोस्रोको जन्म हुने हो । पुँजीवादको गर्वमै समाजवादको भ्रुण विकास भए झैं हामी पनि थाक्दै जनजिविकाका मुद्दाहरु छाड्दै जाने हो भने हाम्रै क्रान्तिकारी प्रगतिशील गर्वमा पनि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरुले औंलो उठाउनेछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ०९:५७