२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

संसदमा गगन थापाको प्रश्नः सरकार साना किसानका अप्रिय निर्णय कुरेर बसेकाे हाे ?

१८ माघ, काठमाडाैं । सांसद गगन थापाले कुखुरा पालन गरेका साना किसानहरूले अप्रिय निर्णय नगरेसम्म सरकारले उनीहरूको ऋण नतिर्दिने हो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद थापाले यस्ता किसान सयौंको संख्यामा रहेका भन्दै यस्ता साना किसानहरू दिनहुँ रोएर कृषि मन्त्रालय धाइरहेका बताए।

उनले भने, ‘उनीहरू त्यहाँ पुग्छन् रुन्छन् कराउँछन्। यी तिनै किसानहरू जसले बैंकबाट ऋण लिएर सानो सानो कुखुरा फार्महरू चलाएका थिए।’

सरकारले बर्ड फ्लुको जोखिम न्यूनीकरण गर्न उनीहरूको कुखुरा फार्म नष्ट गरेको भन्दै उनीहरूलाई त्यसबाट भएको क्षतिपूर्ति सरकारबाट भराउन माग गरे।

‘यिनले पाउने क्षतिपूर्ति ५८ करोड छ। सरकार दिन्न भन्दैन। दिन्छु भन्छ तर झुलाउँछ। किनकि सरकारलाई भ्याइनभ्याइ छ। तर बैंकले यिनलाई अठ्याउँछ,’ सांसद थापाले सरकारलाई प्रश्न गरे, ‘के यिनीहरूले अप्रिय निर्णय नगर्नेबेलासम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै सहानुभूति प्रकट गर्दै छानबिन गर्न समिति बनाउने हो कि ?’

यस्तो निर्णय नहोस् भन्नका लागि ऋणले थिचिएका यी साना किसानहरूलाई जोगाउन सरकारले दिन्छु भनेको, दिनैपर्ने निर्णय गरेको ऋणबापतको रकम नझुलाउन सभामुखसमक्ष माग गरे।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:०१