५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक काठमाडाैँमा शुरू

१२ असोज, काठमाडौं । नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक काठमाडाैँमा शुरू भएको छ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ संयन्त्रको बैठक काठमाडाैँमा शुरु भएको हो ।

नेपालका तर्फबाट बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक ही याङले नेतृत्व गरेका छन् । बैठक बिहीबारदेखि नै शुरु हुने भनिए पनि एक दिन ढिलो गरी आजबाट शुरु भएको हो ।

विद्युत्को माग तथा आपूर्तिको अवस्था, आगामी दिन बढ्ने ऊर्जा मागको प्रक्षेपण, आयोजनाहरुको विकासको अवस्था, संयुक्त रुपमा आयोजना निर्माणका कार्ययोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी  शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार नै बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ११:४७