नुवाकोटको ककनी लगायत प्रदेश ३ का १० स्थानमा भ्यूटावर बन्ने
१२ असोज, मकवानपुर । प्रदेश ३ सरकारले पर्यटन क्षेत्रको विकास गर्न भ्यूटावर निर्माण गर्ने याेजना अघि बढाएकाे छ । सरकारले प्रदेश ३ का विभिन्न १० स्थानमा भ्यूटावर निर्माण गर्न लागेको हो ।
नुवाकोटको ककनी लगायत प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, मकवानपुरको दामन, चित्लाङ कुलेखानी, ललितपुरको कालेश्वर, धादिङको रुबीभ्याली र रसुवाको सोम्दाङमा भ्यूटावर बन्नेछन् । त्यसैगरी, सिन्धुलीको सिन्धुलीगढी र खुर्कोटमा पनि भ्यूटावर बनाउने योजना प्रदेश सरकारको रहेकाे छ ।
१३ जिल्लालाई लक्षित गर्दै १० भ्यूटावर निर्माण गर्न लागिएको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए । मन्त्री नेपालका अनुसार प्रत्येक स्टेसन निर्माणमा ३ करोड खर्च हुने अनुमान छ । यस हिसाबले १० भ्यूटावर निर्माणको लागत ३० करोड हुन्छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका १० वटा स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले योजना सुरु गरिसकेको बताए । पर्यटकीय क्षेत्रको सम्भावना रहेका क्षेत्रहरुमा सरकारले मात्र नभएर स्थानीय तह तथा स्थानीयबासीहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
मकवानपुरको भीमफेदी, ईन्द्रसरोवर, दामनको सिमभञ्ज्याङबाट चिल्लाङको चन्द्रागिरिसम्म पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ ।
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ११:१६