२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छः प्रधानमन्त्री प्रचण्ड

१७ माघ, काठमाडौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । पार्टी पदाधिकारी बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नकाे जवाफ दिंदै उनले भने, ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ।’

गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको ठहर गर्दै उनलाई सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो ।

तर, आइतबार पुन नेपाली नागरिकताको प्रमाणपत्र लिएका लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने उनले नेतृत्वको गरेको राष्ट्रिय स्वतन्त्र पार्टी तथा सत्तासाझेदार केही दलले प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् ।

तर, आफ्नो पार्टीको बैठकमा प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री कसैलाई पनि नबनाउने स्पष्ट पारेका हुन् । लामिछानेले अमेरिकी नागरिकता र राहदानी हुँदा बखत नै खारेज भएको नेपाली नागरिकता प्रमाणपत्रबाट नेपाली राहदानी लिएको विषय विवादमा रहेकाले उनलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन आनकानी गरेका हुन् ।

पदाधिकारी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई तत्काल कसैलाई गृहमन्त्री नबनाउन नेताहरुले सुझाव पनि दिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १५:४६