मर्जर सम्बन्धी छलफलमा उपस्थित हुन तीन बीमा कम्पनीलाई प्राधिकरणको पत्र
१७ माघ, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई छलफलमा बोलाएको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स, आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरको सम्बन्धमा छलफल गर्न बाेलाएकाे हाे । मर्जरको सम्बन्धमा छलफल गर्न छलफल गर्न यी तीन वटै कम्पनीका अध्यक्षलाई माघ १८ गते बुधबार बीमा प्राधिकरणमा बोलाइएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।
यस्तै, प्राधिकरणले यी तीनवटै कम्पनीहरुलाई मर्जरमा जाने वा नजाने भनेर पत्र समेत पठाएको उनले बताए । सोही विषयमा थप छलफलका लागि उपस्थित हुन प्राधिकरणले निर्देशन दिएको हो । चुक्ता पुँजी कसरी पुर्याउने हो भन्ने विषयमा छलफल गरिने उनको भनाइ छ ।
हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रूपैयाँ छ । आइएमई जनरल इन्स्योरेन्सको १ अर्ब १५ करोड र प्रुडेन्सियल जनरल इन्स्योरेन्सको १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ । यी तीन कम्पनी एक आपसमा बराबर हैसियतमा मर्ज भएमा मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी साढे तीन अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो ।
आगामी चैत मसान्तसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई न्यूनतम साढे २ अर्ब र जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले निर्देशन दिएकाे थियाे । उक्त निर्देशन अनुसार चुक्ता पुँजी पुर्याउन अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका छन् ।
भने कतिले मर्जरको प्रकृया सकेर एकीकृत कारोबार समेत गरिसकेका छन् तर, यी कम्पनीहरुले अहिलेसम्म पनि कुनै पनि योजना पेश नगरेको प्राधिकरणले जनाएको छ । यी तीन वटै कम्पनीमा क्रस होल्डिङ रहेको छ । प्राधिकरणले विगत लामो समयदेखि तीन वटै कम्पनीलाई मर्जरमा जान निर्देशन दिदै आएको छ ।
प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १४:४१