माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति पर्यो आवेदन ?
१७ माघ, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ १७ गते मंगलबार अन्तिम दिन रहेको छ।
कम्पनीले माघ १३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
सीडीएससीका अनुसार हिजो सोमबार साँझसम्म कम्पनीकाे आईपीओमा ९ लाख ७५ हजार ७०८ आवेदकले १ करोड १२ लाख १९ हजार १३० कित्ता खरिदका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५.६३ गुणा बढी आवेदन हो।
प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ०९:४९












