२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेकाे सत्तापक्षले अगाडि सार्ने उम्मेदवारमा सबैको सहमति भन्ने हाे

१६ माघ, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रपति पदमा नेपाली काँग्रेसले दावी गर्नु उचित नहुने बताएका छन् ।राष्ट्रपति लगायत राज्यका प्रमुख अङ्गहरू कार्यकारी सरकारका पक्षमा समन्वय र सहकार्य गर्ने पदहरू भएको स्पष्ट गर्दै महासचिव पोखरेलले प्रतिपक्षले राज्यका प्रमुख अङ्गको नेतृत्व गर्न मिल्दैन भने ।

उनले राष्ट्रपति पदमा राष्ट्रिय सहमति भन्नुको अर्थ राज्यका प्रमुख अङ्गका पदहरू सत्ता पक्षका लागि आवश्यक पद भएकाले सत्तापक्षले अगाडि सार्ने उम्मेदवारमा सबैको सहमति खोजौं भन्न खोजिएको हो भने ।

प्रदेश–१ को नेकपा (एमाले) प्रदेश कमिटी बैठकमा सहभागी हुन आज विराटनगर पुगेका महासचिव पोखरेलले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवारी नदिई सहयोग गर्छ भन्ने हाम्रो बुझाई र विश्वास हो भने ।

पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै महासचिव पोखरेलले राष्ट्रपतिको उम्मेदवार नेकपा (एमाले) को मात्र नभई सत्ता पक्षको हुने र प्रदेश तथा केन्द्रका सांसदहरू मतदाता रहेको निर्वाचनमा सत्तापक्षको सुनिश्चित बहुमत रहेकाले सत्तापक्षले हार्ने र प्रतिपक्षले जित्ने भन्ने कल्पना पनि गर्न नसकिने बताए ।

नेपाली काँग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता सिर्जना गर्ने प्रयास गर्छ, अहिले राष्ट्रपतिको दावी पनि त्यही भएको महासचिव पोखरेलको भनाई छ । उनले भने– राज्यका प्रमुख पदहरूमा दावी गर्ने हो भने काँग्रेसले कि त आफूलाई सत्ता पक्षका रूपमा घोषणा गर्नुपर्छ, उसले आफूलाई सत्तापक्ष भन्न सकेको छैन । कानुनले उसलाई प्रतिपक्ष मान्दैन तर प्रतिपक्षका लागि निवेदन दिएको छ । काँग्रेसको आफ्नो माग र चरित्रमा अन्तर देखिएको छ ।

एक अर्को जिज्ञासामा महासचिव पोखरेलले न्यायालय निष्पक्ष हुनुपर्छ, न्याय निष्पक्ष देखिनुपर्छ, कुनै विषयमा अतिरिक्त चासो र कुनैमा उदासिनता हुनुहुँदैन भने ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १६:०६