५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

बृद्धभत्ता खान अछाममा नातीले हजुरआमाको टाउको फुटाए

११ असाेज, काठमाडौँ । बृद्धभत्ता खान अछाममा नातीले हजुरआमाको टाउको फुटाएका छन । साँफेबगर नगरपालिका वडा नम्बर –८, चण्डीकामा नाति पर्ने एक किशोरले वृद्ध हजुरआमालाई बुधबार गम्भीर घाइते हुनेगरी कुटपिट गरेका हुन ।

९० वर्षीया जसु भुललाई १५ वर्षीय किशोर राजन भुलले वृद्धभत्ता लुट्ने उद्धेश्यले रडले समेत टाउकोमा हानी मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । हजुरआमाले वृद्धभत्ता ल्याएको थाहा पाएर आफूले कुटपिट गरेको र पैसा नभेटेपछि फर्केर गएको युवकले स्वीकार गरेको पनि प्रहरीले जनाएको छ ।

किशोरलाई प्रहरीले आवश्यक सोधपुछ गरी निगरानीमा रहने गरी आफन्तको जिम्मा लगाएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले बताएका छन । बयालपाटा अस्पतालमा उपचार भैरहेकी वृद्धाको टाउकोमा ८ वटा टाँका लगाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार ११:४६