२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

वैचारिक रूपान्तरण जरूरीः उपमहासचिव प्रदीप ज्ञवाली

११ माघ, काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टीको संगठन विस्तारसँगै गुणवत्ता कमजोर देखिएको यथार्थ प्रस्तुत गर्दै वैचारिक रूपान्तरण एकदमै जरूरी रहेको बताएका छन । नेकपा (एमाले) केन्द्रीय स्कूल विभागद्वारा भक्तपुरको नगरकोटमा आयोजित राष्ट्रिय कार्यशालामा सम्बाेधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन ।

पार्टीका हरेक नेताकार्यकर्ताले आफूलाई वैचारिकरूपमा निरन्तर अपडेट गर्दै जानुपर्नेमा वैचारिक काम पातलिँदै गएको अनुभव गरिएको वताउँदै उपमहासचिव ज्ञवालीले अब स्कूलको कामलाई जनसंगठन, पार्टीको प्रदेश र जिल्लास्तरमा कसरी व्यवस्थित गर्ने कार्यशालामा छलफल गरी कार्ययोजना बनाइने जानकारी गराए ।

उनले पार्टीमा तल्ला कमिटीमा स्कुलिङको अवस्था के छ ?, वैचारिक क्षेत्रका समस्या, संगठनका समस्या, कार्यशैलीमा देखापरेका समस्या र अन्तरविरोधमा समस्याबारे पनि छलफल गरिने बताए ।  ज्ञवालीले पार्टीको केन्द्रीय स्कूल विभागको पाठ्यक्रम र निर्देशिकाबारे र पार्टीको स्कूललाई कसरी नमूना बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिने बताए ।

दुईदिने कार्यशालामा पार्टीका सबै जिल्ला कमिटी र प्रदेश कमिटीका स्कूल विभाग प्रमुख र पार्टीको केन्द्रीय स्कूल विभागका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १३:००