९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजबाट बिक्री खुला, क-कसले दिन पाउछन् आवेदन ?

५ माघ, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडकाे आईपीओ निष्कासन तथा बिक्री खुल्ला भएकाे छ । कम्पनीले आज माघ ५ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गरेको छ। त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको१० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता निष्कासन गरेको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा स्थानियले छिटोमा माघ १९ गतेसम्म र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ १९ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलबाट अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०९:३६