१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

केपिलासगढीमा गोरु जुधाई प्रतियोगीता

४ माघ, खोटाङ ।  खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा गोरु जुधाई प्रतियोगीता आयोजना गरिएको छ । माघे संक्रान्तीका दिन गर्ने भनिएको गोरु जुधाई प्रतियोगीता बुधबार बाक्सिलास्थित पृथ्बी माविको प्रांगणमा आयोजना गरिएको हो ।

प्रतियोगीतामा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क पातेलका तोरण बस्नेतको डुके नामको गोरु प्रथम, केपिलासगढी गाउँपालिका–६ दिप्सुङका रिमल राईको डुके गोरु दोश्रो र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका उमेश बस्नेतको तारे गोरु तेश्रो भएका छन् । प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने गोरुले क्रमशः २० हजार, १० हजार र पाँच हजार जितेका छन् ।

प्रतियोगीतामा केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका नौ गोरुबीचमा प्रतिष्पर्धा गराइएको थियो । गत माघ १ गते माघे संक्रान्तीका दिन केपिलासगढीमा एलम्वर दिवस, त्रिबेणी लगायतका ठाउँमा मेला लाग्ने भएकाले सो दिन गर्ने तयारी गरिएको गोरु जुधाई प्रतियोगीता केही दिनपछि सारिएको हो ।

गोरु जुधाई प्रतियोगीता स्थानीय रामचन्द्र बिक र पासाङ घले गुरुङले आयोजना गरेका हुन् । किसानलाई स्वस्थ गोरु उत्पादनमा प्रोत्साहित गर्दै स्थानीयलाई मनोरञ्जन दिन गोरु जुधाई प्रतियोगीता आयोजना गरिएको हो ।

पहिलोपल्ट आयोजना गरिएको गोरु जुधाउने प्रतियोगीता हेर्नका लागि खेलमैदान आसपासमा स्थानीयको बाक्लो उपस्थिति देखिएको स्थानीय शिब राईले बताए । आगामी वर्षदेखि हरेक माघ २ गते बाक्सिलामा गोरु जुधाई प्रतियोगीता गर्ने आयोजकले जनाएको छ । मेला वा चाडको अवसरमा अन्य केही जिल्लामा गोरु जुधाउने प्रतियोगीता गरेझैं केपिलासगढीमा पनि गोरु जुधाउने प्रतियोगीता सुरु गरेको बिकले बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १९:४२