१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एडिलेडमा शिवरात्रिको आयोजना हुदै

४ माघफ, एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा फेब्रुअरी १८ तदअनुसार २०७९ फाल्गुन ६ गते महाशिवरात्री ब्रतपुजा तथा भजन कीर्तन हुने भएको छ । स्थानिय एक्टिभ एल्डर एसोसिएशनको हल एस्कट पार्कमा कार्यक्रम आयोजना हुने भएको छ । दिनको १२ बजेबाट पुजा शुरु हुने छ भने ३ बजेबाट सांगितिक प्रबचन हुने छ । यसै गरि ६ बजेबाट आरती र प्रसाद वितरण हुने छ भने ७ बजेबाट भजन किर्तन हुने कार्यक्रम संयोजक सम्भव सुवेदी शास्त्रीले जनाएका छन् । नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री तहको अध्ययन पुरा गरेका संयोजक सुवेदीले धर्म र संस्कार नेपाल र नेपालीको पहिचान भएकाले परदेशमा पनि परम्पराहरुलाई जिवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताए ।

यस बर्षको शिवरात्रमा व्यासाचार्य भुवन गुरुले संगित सहितको शिवमहिमा बाचन गर्ने भएका छन् । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । हिन्दुहरुको प्रमुख पर्व हो महाशिवरात्रि भगवान शिव उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका हो । जसको पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको प्यारो दिनका रूपमा लिइने गरिन्छ ।

नेपालमा व्रतहरु मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन रहेको छ । शिव रात्रिमा वर्त बसी ” ऊँ नमः शिवाय” मंत्र जप गरि सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

समुहका अध्यक्ष गणेश पराजुलीले आस्थावान एडिलेडमा रहेका नेपाली समुदायलाई जम्मा भएर खुशीयाली सहित पर्व बनाउने अवसरका लागि कार्यक्रम आयोजना गरिएको बताए । पराजुलीले नेपालमा शिव मन्दिरमा भेला भएर भजन कीर्तन सहित मनाईने गरिएकोमा परदेशमा पनि एकै स्थानमा भेला भएर पर्व मनाउद नेपालमा जस्तै खुशीको महशुस हुने बताए ।

२०१७मा स्थापित समुहले प्रत्येक वर्ष शिवरात्रि विशेष कार्यक्रम गर्दै आएको छ । उनले यस वर्ष व्यासाचार्य भुवन गुरुबाट अध्यात्मिक जीवनको आधारमा भगवान शिव र शिवरात्रिको महिमा बारेमा संगित सहितको प्रवचन दिने कार्यक्रम समेत रहेको बताए । समुहका सचिव आर के शर्माले यहा हुर्केको पुस्ता मात्र नभएर कक्षा १२ सक्ने वित्तिकै अष्ट्रेलिया आएको पुस्तालाई हाम्रो संस्कार र संस्कृति वारेमा जानकारी दिन समेत कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १३:०१