१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

१७ महिनापछि मेलम्चीको फोहर उठ्यो


–आदित्य दाहाल
२६ फागुन मेलम्ची । मेलम्ची नगरपालिकाले– १७ महिनापछि मेलम्ची बजार क्षेत्रको फोहर आजबाट उठाउन थालेको छ । नगरपालिकाले २०७३ असोजपछि पहिलो पटक फोहर व्यवस्थापनको कार्य शुरु गरेको हो । स्थानीयवासीको अवरोधका कारण फोहर उठाउन बन्द भएपछि मेलम्ची बजारक्षेत्र दुर्ग्न्धित भएको थियो ।

विसं २०७३ साउनमा तत्कालीन नगरप्रमुख पूर्णप्रसाद दुलालले फोहर व्यवस्थापनका लागि इन्द्रावती नदी किनारमा रु तीन लाख बजेट विनियोजन गरी फोहर फाल्ने खाल्डो बनाएको थियो । देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरि बस्ती नजिकै नदी किनारमा फोहर फाल्ने खाल्डो खनेको विषयलाई लिएर स्थानीयवासीले विरोध जनाएपछि नगरपालिकाले फोहर उठाउन बन्द गरेको थियो ।

अव्यवस्थित फोहरका कारण वातावरण प्रदूषित मात्र नभएर विभिन्न रोगको प्रकोप फैलन थालेको भन्दै स्थानीयवासीको तीव्र विरोधपछि नगरपालिकाले पुनः फाहोर उठाउन थालेको हो ।

स्थनीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा पत्रकारसहितको टोलीले बजारको फाहोर सफा गरेको छ । छ महिनाको लागि अस्थायी रुपमा फोहर फाल्ने स्थानको छनोट भइसकेकाले अब सातामा दुई पटक फोहर उठाउने मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

फोहर व्यस्थापन मात्रै नभएर बजार क्षेत्रको होटल तथा घरबाट सिधैँं नदीमा मिसाएको ढलको समेत रोकथाम गर्न नगरपालिकाले लाग्ने पनि उहाँले बताउनुभुयो ।

फोहर व्यवस्थापन गर्दा सभ्य नागरिकको परिचय दिई कतै नखसाली तोकिएको ठाउँमा पु¥याउनुपर्ने, कुनै पनि बहानामा खोलामा खसाल्न नपाइने तथा फोहर नष्ट गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो– “फोहर व्यवस्थापनमा सहयोग नगर्ने तथा जथाभावी फोहर फल्नेलाई अब कारबाहीको दायरामा ल्याउने छ ।”

फोहर व्यवस्थापनको लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहर राख्ने ठाउँ बनाएको छ । फोहर राख्ने ठाउँमा फोहर कुहिएर दुर्ग्न्धित हुन्छ तर फोहर लिन नगरपालिकाको गाडी एक पटक पनि नआउने बताउँदै मेलम्ची नगरपालिका–१० शिखरपुरका स्थानीयवासी पूण्यप्रसाद दाहालले अब नियमित रुपमा फोहर उठाउन नगरपालिकाको गाडी आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मेलम्ची नगरपालिकाका बासिन्दा चित्रकुमार श्रेष्ठ भन्नुहुन्छ– “१७ महिनापछि नगरपालिकाले पुनः फोहोर उठाउन देखाएको चासोप्रति नगरवासी खुसी भएका छन् ।” रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १६:२४