२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सभामुखमा एमालेका देवराज घिमिरे, भोलि निर्वाचन प्रक्रिया सुरू हुने

३ माघ, काठमाडौँ । सभामुखमा एमालेका देवराज घिमिरे सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुने भएका छन । झापा २ बाट प्रतिनिधिसभामा विजयी भएका घिमिरे एमालेमा अवसर नपाउने पुराना नेताको सूचीमा अग्रपंक्तिमा रहेका व्यक्ति हुन ।

एमाले स्थायी कमिटी सदस्य रहेका घिमिरे २०४९ मा भएको एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । घिमिरे पूर्व राष्ट्रियसभा सदस्य पनि हुन । राष्ट्रपति विद्यादेवी भण्डारी समेतको इच्छामा घिमिरेलाइ सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले स्रोतले जनाएको छ ।

सभामुखका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवद्धय छवीलाल विश्वकर्मा र रघुवीर महासेठले इच्छा जाहेर गरेका थिए भने केन्द्रीय कमिटी सदस्य विद्या भट्टराइले पनि आकांक्षा जाहेर गरेकी थिइन । घिमिरे प्रधानमन्त्री जस्तै २ वर्ष ६ महिनाका लागि सभामुख हुन लागेका हुन ।

सत्ता सठबन्धनका दलहरूको बीचमा प्रधानमन्त्री र सभामुख २ वर्ष ६ महिनाको आलोपालो गर्ने सहमति भएको छ । सभामुखको निर्वाचन प्रक्रिया भोलि सुरू हुँदैछ भने निर्वाचन माघ ५ गते हुँदैछ । यता सत्ता गठबन्धनका दलहरूले नेपाली कांग्रेसको चित्त बुझाउन मंगलबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षका दलहरूको बैठक बोलाइएको छ ।

कांग्रेसले सभामुख र राष्ट्रपति मध्ये एक पदमात्रै भए पनि पाउनु पर्ने भन्दै प्रधानमन्त्रीमा प्रचण्डलाइ विश्वासको मत दिएको थियो । यद्यपी सत्तारूढ दलको बीचमा एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भैसकेको कुरा सार्वजनिक भैसकेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ११:४९