मेट लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्याे नयाँ बोनसदर, कुन योजनामा कति ?
२ माघ, काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि आफ्ना बीमितहरुको लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
इन्स्योरेनस कम्पनीको आर्थिक बर्ष २०७८/७९ को बीमाङ्कीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि कम्पनीले न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
इन्स्योरेन्सले सार्वजनिक गरेको बोनसदरअनुसार कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथि बीमा अवधिका लागि ८० रुपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जनाएको छ ।
१ देखि १५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रति हजार ६० रुपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।
त्यस्तै, कम्पनीले शिक्षा संरक्षण योजनाअन्तर्गत १ वर्षदेखि १५ वर्षसम्मको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ७० रुपैयाँ र २१ वर्षदेखि माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
यसका साथै कम्पनीले अग्रिम भुक्तानी योजनाअन्तर्गत भने १ वर्षदेखि १५ वर्षसम्मका लागि ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ५५ रुपैयाँ र २१ वर्ष वा सो भन्दा माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २ माघ २०७९, सोमबार १३:४९