२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

बौद्ध धर्मावलम्बीले उत्साहपूर्वक मनाए सम्यक दान पर्व

१ माघ, भक्तपुर । नेपाल सम्वत् ७८७ मा भक्तपुरमा सुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दान पर्व आज सम्पन्न भएको छ । पाँच दीपकङ्रसहित अन्य स्वर्ण दीपङ्करका मूर्तिहरूलाई स्थानीय थथुवहिमा विराजमान गराई भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराई मनाइने सम्यक दान पर्व यहाँका बौद्ध धर्मावलम्बीले भव्यरूपमा मनाएका हुन् ।

चतुब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेक वर्ष माघ १ गते मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक दानमा परम्परागतरूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरू शाक्य र बज्राचार्यहरूलाई भोजन, अन्न दक्षिणा दिइएको थियो । भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका बौद्ध धर्मावलम्बीले दान गरेको भक्तपुर बौद्ध सम्पदा सङ्घका अध्यक्ष महेन्द्रराज शाक्यले बताउनुभयो ।

वर्षको दुईपटक मात्र भक्तपुरमा रहेको प्रमुख पाँच दीपङ्कर बुद्धको प्रतिमूर्तिहरुलाई सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक दान पर्वका दिन पाँच दीपङ्कर बुद्धको प्रतिमूर्तिहरू विराजमान गराइएको शाक्यले बताउनुभयो ।

काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुइख्य, ललितपुर नागवहालमा पाँच वर्षमा एकपटक र भक्तपुरमा प्रत्येक वर्ष नियमितरूपमा यो पर्व मनाउँदै आइएको छ । भक्तपुरमा प्रत्येक वर्ष नःपुखु को पश्चिम थथुवहीको परिसरमा रहेको भुइख्य क्षेत्रमा सम्यक भोजन दान गरिने परम्परा छ ।

बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्वका रूपमा रहेको सम्यक दान पर्वलाई बाजागाजाको साथ निम्तो गरिन्छ । सम्यक दानमा परम्परागतरूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरू शाक्य र बज्राचार्यलाई भोजन, अन्न दक्षिणा दिइने प्रचलन रहेको सम्यक महादान गुठीका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिनुभयो ।

भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका बौद्ध धर्मावलम्बीहरूले जमिनमा उम्रिएका विभिन्न अन्न, दक्षिणालगायत विभिन्न सामग्री दान गर्ने परम्परा रहेको छ । वर्षको दुईपटक मात्र भक्तपुरमा रहेको प्रमुख पाँच दीपङ्कर बुद्धको प्रतिमूर्तिलाई सम्बन्धित विहारबाट बाहिर ल्याएर पर्व चलाउने परम्परा रहेको छ ।

सम्यक दानपर्व गौतम बुद्धको पालादेखि चल्दै आएको बौद्ध धर्मालम्बीहरूको विश्वास रहे पनि ऐतिहासिक प्रमाणका रूपमा लिच्छविकालीन धार्मिक राजा वृषदेवको पालादेखि आजसम्म पनि मनाउँदै आएको उहाँले बताउनुभयो । भक्तपुरमा सम्यक भोजन दानपर्व नेपाल संवत् ७८७ सालमा भक्तपुर चतुरब्रह्म महाविहारका बज्राचार्य जयरत्नले भक्तपुर नगरपालिका इताछेँस्थित थथुवही (जयकीर्ति महाविहार) बाट सुरु गरेको संघका सचिव देवचन्द्र बज्राचार्यले बताउनुभयो । जयरत्नपछि वहाँका छोराहरू जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्यरूपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपङ्कर स्थापना गरिएको उहाँले बताउनुभयो ।

भुइख्य क्षेत्र नेपाल संवत् १०४४ सालमा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपङ्करहरू, सुवर्ण देवतासहित लोकेश्वर देवता, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुरु, नाला, साङ्गा, थिमि आदि ठाउँमा रहेका दीपङ्करसमेत उपस्थित गराई दीपङ्कर र अन्य देवताको क्रमबद्ध लाइन राखेर पूजा एवं दान दिइने गरे पनि अहिले भने भक्तपुरका पाँच दीपङ्करलाई मात्र राखिने गरिएको छ ।

सम्यक दानमा भक्तपुरलगायत काठमाडौँ, ललितपुर, बनेपा, साँखु, थिमिलगायत ठाउँका बासिन्दाहरू दानमा सहभागी भएका छन् भने गुँलाबाजां, दाफा भजन, ज्ञानमाला भजन, धाबाजां बजाइएको छ । भक्तपुरको नियमित सम्यक सङ्घ भोजन दान प्रत्येक वर्ष माघ सङ्क्रान्तिका दिन मनाइने सांस्कृतिक पर्वमा क्वाठण्डौ प्रशन्नशील महाविहार, साकोथा चतुरब्रह्म महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछें जयकीर्ति महाविहार (थथुवही) र भार्वाचो बौद्ध समकृत विहारको दीपङ्कर गरी पाँच दीपङ्कर बुद्धहरू राखेर दान दिने गरिन्छ ।

प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपङ्करहरू) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्तिमहाविहार (थिमि)का उपाध्यायगुरुजू एवं मुलपूरोहित गुरुजुहरूलाई हाम्वजा (तिल भोजन) दान गरिने भएकोले माघ सङ्क्रान्तिको दिनलाई नेपाल भाषामा हाम्व सङ्क्रान्ति (तिल सङ्क्रान्ति) का रूपमा मनाइँदै आएको हो ।

दीपङ्कर बुद्धहरूलाई थथुवही विहारको मुलद्वारमा सम्यक दानका दाताले स्वागत गर्ने (नेपाल भाषामा लिचायकेगु भनिन्छ), भुइख्य क्षेत्रमा भूमि शोधन गर्ने, पूजा गर्नेलगायत मूलपुरोहित गुरुजुलाई भोजन दान गर्दा भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरूका साथै फलफूल र मिठाइ दान प्रदान गर्ने परम्परा रहेको छ । साथै धान, चामल, लड्डु (रोटी र सक्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु) पुरी र दक्षिणा दान गरिन्छ ।

त्यसैगरी सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरू बज्राचार्य र शाक्य वर्गलाई धानचामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस दान दिने कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्त र इष्टमित्र साथीहरूले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार २२:४२