१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

पर्यटकीयस्थल बन्दिपुरमा गोरु जुधाइ प्रतियोगिता

१ माघ, तनहुँ । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज तनहुँको पर्यटकीयस्थल बन्दिपुरमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।

नारायण–गोपाल युवा क्लबद्वारा बन्दीपुर गाउँपालिका–२ स्थित कुकुर्दीमा आयोजित गोरु जुधाइमा हल्थुम्काका नवीन गुरुङको गोरु प्रथम र कुकुर्दीका सन्तोष गुरुङको गोरु द्वितीय भएको छ ।

उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका १४ हल गोरु सहभागी गराइएको क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने गोरुका धनीलाई नगद रु १५ हजार र दोस्रो हुनेलाई रु सात हजार पुरस्कार प्रदान गरिएको छ ।

क्लबले प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा सो प्रतियोगिता गर्दै आएकाले यस वर्ष पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न किसिमका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरेर माघे सङ्क्रान्ति मनाइएको सो क्लबले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार २२:३८