५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

निर्मला पन्त बलात्कार र हत्या प्रकरणः पाँच कारणले एसपी विष्टको जागिर चट !

९ असोज, काठमाडाैँ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानका लागि गठित समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदन अनुसार निलम्बित एसपी डिल्लीराज विष्टको जागिर नै जाने सम्भावना देखिकएको छ । सहसचिव हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई दिएको प्रतिवेदनमा कञ्चनपुरका तत्कालीन एसपी विष्टले गम्भीर गल्ती गरेको ठहर गरेको छ ।

प्रतिवेदन अनुसार घटना हुनु अघिदेखि गोली चलाउँदासम्म विष्टले थुप्रै कमजोरी गरेका छन । विष्टले घटनाको जानकारी हुनासाथ प्रहरी परिचालन नगरेर गम्भीर गल्ती गरेको छानविन समितिको ठहर छ । त्यस्तै घटनास्थलमा नगइ उनले घटनाप्रति नियोजित उदासिनता प्रकट गरेको अनुसन्धान समितिको ठहर रहेको छ ।

योजनाबद्ध रूपमा प्रमाण नष्ट गराउने काम गरेको, स्थनीयबासीसँग गलत व्यवहार गरेको र बिना आदेश गोली चलाउने काम गरेका कारण एसपी विष्ट नै मुख्य दोषी रहेको छानविन समितिको निष्कर्ष रहेको छ । विष्टले तत्कालीन प्रजिअ कुमारबहादुर खड्काको अनुमति बिना नै गोली चलाएको प्रतिवेदनमा उल्लेख छ।

.समितिले प्रजिअसँग सोधपुछ पनि गरेको छ। आफूले एसपी विष्टलाई पटक-पटक फोन गर्दा पनि नउठाएको र गोली नचलाउनु होला भनेर म्यासेज पठाएकाे भएपनि गोली चलाएको प्रजिअले बताएको कुरा प्रतिवेदनमा उल्लेख छ। त्यसकारण निलम्बित एसपी बिष्टको जागिरनै खोसिने सम्भावना रहेको गृह मन्त्रालयले स्रोतले जनाएको छ । सोमबार बुझाइएको प्रतिवेदन एअाइजी धिरू बस्न्यात नेतृत्वको अनुसन्धान समितिलार्इ दिएर कारबाही प्रक्रिया अघि बढाउने तयारी मन्त्रालयले गरेको छ ।

यो पनि पढ्नुहोस्

–निर्मला पन्तको बलात्कारकै दिन एसपी विष्टका छोराले मोडल बनाउने भन्दै फोटोसुट गरेको खुलासा

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १८:२१