२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कांग्रेससहितको सत्ता गठबन्धनको बैठक बोलाउदै प्रचण्ड, सभामुख र राष्ट्रपतिबारे छलफल गर्ने

१ माघ, काठमाडौं । शनिबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा प्रचडले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे । ओली बिहानै प्रचण्ड भेट्न बालुवाटार पनि पुगे । ओली र प्रचण्डको भेटमा मन्त्रिपरिषद् विस्तार लगायतको विषयमा छलफल भएको भन्दै बाहिर हल्ला पनि चलाइयो तर वास्तविकता त्यस्तो नभएर अर्को भएको सूचना दैनिकीले प्राप्त गरेको छ ।

शनिबार बिहान करिब २ घण्टा चलेको ओली र प्रचण्डको भेटमा विश्वासको मत दिने दलहरूको संयुक्त बैठक बोलाउने विषयमा छलफल भएको थियो । प्रचडले सुरूमै ओलीसँग आफूले सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिए ।

लगत्तै ओलीले पनि राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भैसकेका कारण सभामुख निर्वाचनको मुखमा यस्तो छलफलको औचित्य हुन्छ र भनेर प्रश्न गरेका थिए । त्यसपछि प्रचण्डले आफू पनि चौतर्फी दबाबमा रहेको भन्दै औपचारिकताका लागि धन्यवाद ज्ञापन पनि हुन्छ भन्दै बैठक बोलाउने बताए । त्यसपछि उनले प्रधानमन्त्रीमा विश्वासको मत दिनेलाई एकै ठाउँमा राखेर धन्यवाद दिनु राम्रै हुने बताए ।

त्यस लगत्तै प्रचण्डले सर्वोच्चको परमादेशअघिदेखि आफ्नो पक्षमा समाचार लेखेर सहयोग गरिरहेका केही सम्पादकहरूसँग प्रधानमन्त्री निवासमै छलफल गरेका थिए । त्यहाँ प्रचण्डले माघ ३ गते सर्वदलीय बैठक बोलाउन लागिएको बताएका थिए।

शुक्रबार साँझ प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मार्फत कुरा गरेर विश्वासको मत दिने दलहरूको बैठक बोलाउने सहमति गरे । नेपाली कांग्रेसले आफ्नो ल्याकतले नभ्याए पनि भारतीय शक्तको प्रयोग गरेर राष्ट्रपति हत्याउने प्रयासमा लागेको छ ।

त्यसैका लागि उसले प्रचण्डसँग अघोषित सहमति गरेर प्रधानमन्त्रीलाई विश्वासको मत समेत दियो । २०६४ को राष्ट्रपतिको चुनावको जस्तो नियति दोहोर्याउन उनीहरू दुबै पक्ष सहमत देखिएका छन । त्यसका लागि कांग्रेसले राप्रपाका पशुपतिशम्शेर राणा समूहसँग कुरा गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्रीका विश्वासको मत दिने दलहरूसँग संयुक्त बैठक गर्न प्रधानमन्त्रीले इच्छा गरेको भए पनि मिति तय नभएको बताए । उनले नयाँ राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बोलाउने सहमति भएको र आइतबार समय र मिति तय हुने जानकारी दिए ।

नेकपा एमालेले भने राजनीति र सम्बन्धहरू सबै विश्वासमा अडिएको भन्दै प्रधानमन्त्रीले विश्वासको मत दिने दलहरूसँग छलफल गर्न खोज्नुलाई अस्वभाविक नै मान्न नहुने जनाएको छ । प्रधानमन्त्रीले त सभामुख र राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेससहितका दलको छलफल बोलाउनु भएछ नि भन्ने प्रश्नमा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बाहिर चर्चा भएको जस्तो छलफलको उद्देश्य नहुन सक्ने बताए । उनले यसअघि नै सत्ता गठबन्धनका दलहरूको बीचमा प्रधानमन्त्री माओवादीले लिने र सभामुख र राष्ट्रपति एमालेलाई दिने सहमति भएको बताए ।

यद्यपी प्रचण्डले भने आफ्ना निकटहरूसँग कुरा गर्दै आफूमाथि चर्को दबाब परेको बताउँदै आएका छन । जसका कारण प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न पनि सकेका छैनन भने नियुक्त भएका मन्त्रीलाई जिम्मेवारी दिन समेत सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना हुनै लाग्दै प्रचण्ड मन्त्रिपरिषद्का चार मन्त्री अहिले पनि जिम्मेवारी बिहीन रहेका छन ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १०:१४