२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एमाले सपना समाप्त पारेका घनश्याम वेदुरामलाई विस्थापित गर्दै समाजवादीको महासचिव

२९ पुस, काठमाडौँ। आफ्नो छुट्टै विचार र सिद्धान्त नभए पनि अरूको विचार र सिद्धान्तमाथि टिप्पणी गरेकै कारण बौद्धिक भनेर कहलिएका घनश्याम भुसाल अन्ततः नेकपा एकीकृत समाजवादीको महासचिव हुने गरी पार्टी प्रवेश गरेका छन ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेसभा चुनावअघि नै पार्टी प्रवेश गर्ने तयारी भएको भए पनि रूपन्देही १ बाट चुनाव जितिने आशमा उनले त्यो कदम रोकेका थिए । अर्थात भुसाल पाँच दलीय गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनले माधवकुमार नेपालको साथ छाडेको डेढ वर्षपछि उनकै महासचिवको रूपमा काम गर्ने निर्णय गरेका हुन । तत्कालीन एमालेमा नेपाल गुटमा उनीहरू अध्यक्ष महासचिव जस्तै जोडी जमाएर काम गरेका थिए ।

नेकपा एकीकृत समाजवादीमा महासचिव पाउने भएपछि पार्टी प्रवेशको निर्णयमा पुगेका घनश्याम भुसाल ।

२०५४ सालमा एमाले विभाजन हुँदा पनि उनी विभाजनको पक्षमा लागेका थिए । डेढवर्षअघि माधव नेपाललाई फर्किनै नसक्ने अवस्थामा राखेर विभाजनतर्फ धकेल्दै उनी भने १० बुँदे मार्फत एमालेमै फर्किएका थिए ।

भुसालहरूको साथ नपाए पनि माधव नेपालले एकीकृत समाजवादी गठन गरेका थिए । त्यसबेला नेपाललाई साथ दिने ‘१० भाइ’ मध्ये भुसाल पनि एक थिए ।

एमाले अध्यक्ष ओलीको रापताप थेग्न नसकेर एमालेमै बसेका पूर्वउपमहासचिव भुसाल पछि पार्टी नै त्याग्न बाध्य भए । एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई उम्मेदवार नै उठाएन । त्यसपछि उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रुपन्देही १ बाट उम्मेदवार बनेका उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए ।

निर्वाचनपछि एक्लै रहँदै आएका भुसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। नयाँ बानेश्वरस्थित अर्याल होटलमा दिउँसो २ बजे आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादीमा प्रवेश गर्नेछन्। पार्टी अध्यक्ष नेपालले भुसाललाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ।

भुसालले गत असोज २३ मा एमाले छाडेका थिए। भुसाललाई पार्टीमा स्वागतका लागि एकीकृत समाजवादीले यसअघि पत्रसमेत पठाएको थियो। भुसाललाई कुन जिम्मेवारी दिने एकीकृत समाजवादीले खुलाएको छैन। उनलाई उपाध्यक्ष वा महासचिव कुनै एक पद दिने तयारी रहेको पार्टीका नेताहरू बताउँछन्।

महासचिवबाट वेदुराम विस्थापति 

नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश अघि नै घनश्यामले महासचिव पदको सर्त राखेका कारण उनले त्यो प्राप्त गर्ने सहमतिमा निर्णय लिएका हुन । घनश्याम महासचिव भएसँगै वेदुराम भुसाल भने उपाध्यक्ष हुने भएका छन । उनले त्यसका लागि सहमति जनाइसकेका छन ।  अब बामदेव गाैतम पनि समाजवादी प्रवेश गरेर झलनाथ खनालसँगै समान्नित नेताको हैसियतामा बस्दैछन । यसका निम्ति गाैतमले पनि सहमति जनाइसकेका छन ।

नेकपा एकीकृत समाजवादीमा घनश्याम भुसाल भित्र्याउनका लागि महासचिव त्याग गरेका वेदुराम भुसाल ।

एमालेको महासचिवमा रहर उपाध्यक्षमा चुनाव लड्दा भारी मतले पराजति 

भुसाल एक पटक एमालेको महासचिव बन्न चाहन्थे तर त्यो सम्भव नभएपछि उनले नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित हुन तयार भए । उनी नवाैँ महाधिवेशनमा उपमहासचिवमा विजयी भएका थिए । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।

उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी थिइन भने दोस्रोमा सुरेन्द्र पाण्डेले पाएका थिए । उनीहरू पनि भुसाल जस्तै १० बुँदेको प्रकियाबाट एमालेमा फर्किएका थिए ।

शाक्यले १९७६ मत प्राप्त गर्दा भुसालले ७२५ मत प्राप्त गरेका थिए । सो महाधिवेशनमा पाण्डेले १९२५ मत पाएका थिए भने सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत पाएका थिए ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १३:१०