विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा
९ असोज,काठमाडौँ । बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँै सम्मेलन आजदेखि शुरु भएको छ ।
दुईदिसम्म सञ्चालन हुने उक्त सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ ।
उक्त सम्मेलनमा मानव नवनिर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदानप्रदान हुनेछ ।
अर्थमन्त्री युवराज खतिवडाले सम्मेलन शुभारम्भका क्रममा समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको चर्चा गर्दै बीमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ भन्नुभयो ।
उहाँले सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिई सबै जनतालाई यसको पहुँचमा ल्याउन लागिएको उल्लेख गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले भन्नुभयो, “यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक छ ।” उक्त समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले विपद् जोखिमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेको बताउनुभयो ।
प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १३:०९