२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने खेलमा छः महासचिव पोखरेल

२६ पुस, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ जनादेशका आधारमा गठन भएको वर्तमान सरकारलाई सफल पार्ने बाहेक अर्को विकल्प नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा केही काम गरेर देखाउन चाहेको प्रसङ्ग जोड्दै महासचिव पोखरेलले नेकपा (एमाले) ले वर्तमान सरकारलाई सफल बनाउन अधिकतम कोशिश गर्ने बताए ।

आज नेकपा (एमाले) केन्द्रीय विज्ञान तथा प्रविधि विभागको बैठकलाई सम्बोधन गर्दै उनले भने– एमाले र माओवादी बीचको सत्ता सहकार्य तोड्ने खेल शुरू भइसकेको छ ।

मुलुकमा अस्थिरता रोक्न र स्थायित्वका लागि नेपाली काँग्रेससँग पनि संयुक्त सरकार गठनका लागि एमालेबाट प्रस्ताव गरिएको बताउँदै काँग्रेसले रूचि नदेखाएपछि स्वाभाविक रूपमा पाँचदलीय गठबन्धन छोडेर आएको माओवादीसँग सरकार गठन गर्ने सहमति भएको स्पष्ट गरे ।

सरकार गठनमा सफलता मिले पनि सरकारका सामु चुनौतीहरू अरू ज्यादा बृद्धि भएको र नेपाली काँग्रेस अहिलेको सत्तासमीकरण भत्काउने उपयुक्त अवसरको खोजीमा रहेको महासचिव पोखरेलले बताए ।

वर्तमान सरकार केही काम गरौं भन्ने चाहना राख्नेहरूको साझेदारी भएको बताउँदै यसलाई ऊर्जाका रूपमा लिनुपर्ने विचार व्यक्त गरे ।महासचिव पोखरेलले नेकपा (एमाले) दलहरूबीच नीतिमा आधारित सहकार्यमा जोड दिने बताउँदै नेकपा (एमाले) र माओवादी केन्द्रबीचको सहकार्य पनि क्रमशः त्यही दिशामा अगाडि बढाउनुपर्ने धारणा राखे ।

महासचिव पोखरेलले सरकार सञ्चालनको मार्गदर्शनका रूपमा रहेकोे न्यूनतम साझा कार्यक्रममा नेकपा (एमाले) ले उठाएका राष्ट्रिय मुद्दा सहमतिका साथ समावेश गर्न सफल भएको बताए । बैठक पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख टंक कार्कीको अध्यक्षतामा बसेको थियो ।

बैठकले आगामी फागुनको दोस्रो साता विज्ञान प्रविधि क्षेत्रका विज्ञहरूको भेला आयोजना गर्ने तथा डिजिटल नेपालको अवधारणा कार्यान्वयनका निम्ति राष्ट्रिय गोष्ठी आयोजना गर्ने निर्णय गरेको विभागका सचिव सन्जिव रोकाले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १७:१५