८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि, कूल सम्पत्ति ५ खर्ब ५ अर्ब

२५ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आज पुस २५ गते सोमबारदेखि सुरू हुने भएको छ ।ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू हुनेछ ।

यी दुई बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएका थिए । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक बन्ने भएको हो ।

मर्जर सम्झौता गरेको ७ महिनापछि यी दुई बैंककाे  एकीकृत कारोबार हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ ।

मर्जरपश्चात् कूल सम्पत्ति ५ खर्ब ५ अर्ब र कूल पूँजी ५७ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मर्जर पश्चात् बैंकको ४० लाखभन्दा बढी ग्राहक संख्या पुग्नेछन् । शाखा सञ्जाल देशविदेश गरी कूल १ हजार १ वटा भन्दा बढी हुनेछन् । मर्जर पश्चात् बैंकको कर्मचारी संख्या ३ हजार ७९३ जना पुग्नेछन् ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ११:५७