२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सत्तारूढ दलको बैठक प्रधानमन्त्री निवासमा जारी, यस्ता छन छलफलका महत्वपूर्ण एजेण्डा

२४ पुस, काठमाडौँ । सत्तारूढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । सत्तारूढ दलहरूको तर्फबाट उच्चस्तरीय राजनीतिक संयन्त्रका प्रमुख नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा दलहरूको बैठक बसिरहेको छ ।

बैठकमा मुख्यमन्त्रीको भागवण्डा, भोलिदेखि सुरू हुने संसद अधिवेशन, २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रालय भागवण्डाको  टुंगो लगाएर कुन कुन दललाइ सरकारमा सहभागी गराउने भन्ने विषयमा छलफल भैरहेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी सरकारमा सम्मानजक सहभागिताको माग गरेपछि आजको बैठकमा सो विषयमा प्रमुख प्राथमिकताका साथ छलफल भैरहेको बालुवाटार स्रोतले जनाएको छ ।

जसपाले तीन मन्त्रालयको नेतृत्व मागेको भए पनि २ मन्त्री र १ राज्यमन्त्रीमात्र दिन सकिने अडान एमाले र माओवादीको रहेको छ । मन्त्रालयको संख्यामा मिल्न खोज्दा मालदार मन्त्रालयको विषयले पूर्ण सहमति हुन नसकेको सत्तारूढ दलका एक नेताले दैनिकीलाई जानकारी दिए । बैठकमा केही मन्त्रालय फुटाएर भए पनि सरकारलाई बलियो बनाउनुपर्ने आवाज पनि उडठेको छ ।

यद्यपी यसमा राप्रपा र रास्वपाले असहमति राख्दै आएका छन । आजको बैठकले सरकारको न्यूनत साझा कार्यक्रम समेत अनुमोदन गर्ने बताइएको छ । यसअघि एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले कार्यक्रमको मस्यौदा ओलीलाई हस्तान्तरण गरेको थियो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवदी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत सहभागी रहेका छन ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १८:५४