९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

नेपाल आइपुगे नवनियुक्त चिनियाँ राजदूत चेन सोङ

२४ पुस, काठमाडाैं । नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गरेका थिए ।

यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उनलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२ औँ राजदूत हुन् ।

सो अवसरमा उनले हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालीन मित्रता रहेको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले सधैं एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका उल्लेख गरे ।

साथै राजदूत चेनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेकाे र दुई राष्ट्र प्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको समेत स्मरण गरे ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १७:१३