१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अस्वीकार गरे सशस्त्र प्रहरी नेतृत्वको चाकरी (भिडियो)

२३ पुस, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी नेतृत्वले प्रधान कार्यालयमा स्वागतका क्रममा छुट्टै सोफा राखेर गर्न खोजेको चाकरी अस्वीकार गरेका छन । शनिबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा निरीक्षण भ्रमणमा जाँदा सशस्त्र प्रहरीको नेतृत्वले लामिछानेको स्वागतका लागि फरक सोफा राखेको थिए तर उनले उक्त सोफा हटाउन लगाएर अन्य अधिकृतहरू बस्ने जस्तै सोफा राख्न लगाए र आसन ग्रहण गरे ।

फरक सोफा वा कुर्सी राखेर गरिने चाकरीका बारेमा लामिछानेले बिरोध गर्दै आएका थिए । लामिछानेका लागि यो कदम सुधारको एउटा खुट्किलो भए पनि भद्दा चाकरीमा रमाउनेहरूका लागि भने बलियो झापड हो । कर्मचारी र प्रहरीमा सीमा बाहिर पुगेर सत्ताको चाकरी गर्ने परम्परा रहँदै आएको छ । त्यसलाई तोड्नका लागि सानै सही उपप्रधान तथा गृहमन्त्री लामिछानेले राम्रो काम गरेका छन । लामिछानेको सचिवालयका संयोजक दीपक बोहराले पनि उनको चकरी अस्वीकार गर्ने यो शैलीको बारेमा ट्वीट मार्फत जानकारी बाँडेका छन । उनले सानो भिडियो क्लिप सेयर गर्दै यस कदमको जानकारी गराएका हुन ।

सो अवसरमा लामिछानेले सम्बाेधन पनि गरेका छन । सम्बाेधनका क्रममा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट अनुसार काम गर्नुपर्ने बताए । उनले विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न प्रहरीका उच्च अधिकृतहरूलाई निर्देशन दिए ।

लामिछानेले तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

लामिछानेले सरुवा, बढुवा लगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गर्ने जानकारी दिए । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउदै नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताए ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १८:५६