२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

यी हुन् कांग्रेस संसदीय दलको बैठकले गरेका ७ निर्णय

२३ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । आगामी २६ पुस बिहान पुनः बस्ने गरी सम्पन्न भएको दलको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ । यस्ता छन कांग्रेस बैठकका निर्णयहरू ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकल निम्न बमोजिमका अन्य प्रस्तावमा माथि छलफल भई निर्णय गरेको छ ।

१. नेपाली काँग्रेस संसदीय दलको यो प्रथम बैठक गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने आदरणीय मतदाताप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

२. निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन भूमिका निर्वाह गर्नु हुने पार्टीका सबै साथीहरुलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

३. स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली काँग्रेस नेतृत्वको निवर्तमान सरकारलाई यो बैठक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।

४. प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ ।

५. यो बैठक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता साथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन, नागरिक समाज, बुद्धिजीवी र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना गर्दछ ।

६. निर्वाचनको समयमा जनतालाई निरन्तर सुसूचित गर्ने सम्पूर्ण सञ्चार माध्यमप्रति यो बैठक सम्मान प्रकट गर्दछ ।

७. यो बैठक संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने निर्णय गर्दछ । ८। नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक यही २६ पुस  बिहान ९ः०० बजे बस्ने निर्णय गर्दछ ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १७:२६