२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

कांग्रेस संसदीय दलको बैठक जारी, छायाँ सरकारबारे छलफल हुने

२३ पुस, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक बसिरहेको छ ।

यही पुस २५ गतेदेखि सुरु हुने संसद् अधिवेशनमा पार्टी रणनीति र खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारी एवं सङ्घीय संसद्का सांसदहरुको सहभागिता छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।

सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुने तय भएको छ । यस्तै विगतमा जस्तै कांग्रेसले यस पटक पनि छायाँ सरकार गठन गरेर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १४:५०