१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

चीन सरकारले जिम्मा लिएको नुवाकोट दरबारको पुनःनिर्माण अनिश्चित

८ असोज, काठमाडाैँ । विसं २०७२ मा भूकम्पको कारण ढल्ने अवस्थामा पुगेको नुवाकोट दरबारको पुनर्निर्माण कहिले देखि शुरु हुने टुङ्गो लाग्न नसकेको सरकारी अधिकारीले बताएका छन् । नुवाकोट दरबारमा काष्ठकला, पत्थर कला तथा धातु कला सम्बन्धी तालीमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नुवाकोट दरबारको पुनःनिर्माण कहिलेबाट शुरु हुने टुङ्गो नलागेको बताए ।

सचिव देवकोटाले राष्ट्रिय महत्वको सम्पदा पुनःनिर्माण चाँडै नै थालिने बताए । चिनियाँसँग बसेर टुङ्गो लगाउन बाँकी छ’ सचिव देवकोटाले भने ‘ठूलो लगानी भएकोले उनीहरुले पनि तयारी गर्दैछन् । नुवाकोट दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माणको क्रममा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयालले बताए ।

पुनःनिर्माणको क्रममा काष्ठ कला, धातु कला र पत्थर कलामा पोख्त जनशक्तिको खाँचो पर्ने भएकोले स्थानीय रुपमा सिकर्मी, डकर्मीको काम गर्दै आएकालाई तालीममा सहभागी गराइएको कार्यालयले जनाएको छ । १५ दिनसम्म सञ्चालन हुने तालीममा ४५ जनाको सहभागिता छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार १३:१३