२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

केपी ओलीको प्रशंशा गरेको भन्दै रामकुमारी झाँक्रीमाथि कारबाही गर्ने तयारी

१९ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंशा गरेको अभियोगमा नेकपा एकीकृत समाजवादीले सचिव रामकुमारी झाँक्रीमाथि कारबाही गर्ने तयारी गरेको छ । पार्टीको बैठकमा सोही अभियोगको विषयमा झाँक्रीमाथि कारबाहीको माग भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेताहरूको बद्ख्वाइँ गरेर अरुको प्रशंसा गर्ने भन्ने गम्भीर प्रश्न गर्दै यस्तो काम बन्द गर्न निर्देशन दिएका छन ।

झाँक्रीसहित स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेमाथि पनि कारबाही गर्ने तयारी भएको छ । न्यौपानेमाथि कारबाही गर्न भन्दै पार्टीको बैठकमै कुरा उठेको छ । उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप पोलिटब्युरो सदस्यहरूले लगाएका छन् ।

झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसंग बैठकका झिकिएको थियो । मुकुन्दले सार्वजनिकरूपमै पार्टी नेतृत्वविरुद्ध बोलेको आरोप छ । उनले बारा १ मा गएर एमालेका अच्युत मैनालीलाई मत मागेको आरोप पुष्टि हुने प्रमाण नै बैठकमा पेश भएको बुझिएको छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १५:३२