२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

१५ पुस, काठमाडौं । विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।

विदेशबाट ल्याउने मोबाइलमा समेत कडाइ गर्न खोजिएकोप्रति तीव्र आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

१५ पुस २०७९ बाट विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन लागेको थियो । तर, यस निर्णयको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

विदेशबाट फर्किंदा एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आहात र केही व्यापारी घरानालाई फाइदा दिएको भन्दै सरकारको चर्काे आलोचना भइरहेको थियो ।

तर, शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै तत्काललाई सो निर्णय कार्यान्वयन नहुने भएको छ । १५ पुस शुक्रबारबाट सरकारले एक थानभन्दा बढी मोबाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ११:३६