१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सशस्त्रका कर्मचारीको सुविधामा लात मार्दै आईजिपी अर्याल, गञ्जी र कट्टु समेत काटियो

१५ पुस, काठमाडाैँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले तल्लाे दर्जाका कर्मचारीले पाउँदै आएको सुविधामा कटौती गरेर लात पारेका छन । भाषणमा तल्लो दर्जाका कर्मचारीको हितमा काम गर्ने बताए पनि सशस्त्र प्रहरी नियमावली, २०७२ को अनुसूची–१५ संशोधन गराएर अर्यालले तल्लाे दर्जाका कर्मचारीले पाउँदै आएको सुविधा कटौती गरेका छन । अर्यालको बोली र व्यवहारमा फरक देखिएपछि सशस्त्रक कर्मचारी तनावमा परेका छन ।

सशस्त्र प्रहरीका अधिकृत तथा जवानले यसअघि पाउँदै आएको प्रारम्भिक पोसाक तथा सामानमा नियमावली संशाेधन गरेर ठूलो कटौती भएको हाे। सुविधा कटाैतीका बारेमा गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को अनुसूची–१५ संशोधन गरेको सूचना पुस ११ गतेको राजपत्रमै प्रकाशित भैसकेको छ ।

नयाँ संशोधित नियमवालीअनुसार अब विगतमा सशस्त्र प्रहरीले १ वर्षका लागि २/२ जोर पाउँदै आएको पीटी गञ्जी तथा पीटी कट्टु १ वर्षका लागि १/१ जोर मात्रै पाउने भएका छन्। यो अनुसूची–१५ को खण्ड (क) को क्रमसंख्या ९ मा गरिएको संशोधन हो। यस्तै ऊनीको कम्बल २ वर्षका लागि २ वटा पाउँदै आएकोमा अब २ वर्षका लागि १ वटामात्र कम्बल दिइने भएको छ ।

त्यस्तै यसअघि स्नो पार्क ज्याकेट ५ वर्षका लागि १ थान दिइँदै आएकोमा अब समान अवधिका लागि स्नो पार्क वा डाउन ज्याकेट दिइने भएको छ। खण्ड (घ) को क्रमसंख्या ४ मा यस्तो संशोधन गरिएको हो। ३ वर्षका लागि १ जोर दिइँदै आएको कटन प्याडेट युनिफर्म सुटको सट्टा अब २ वर्षका लागि १ जोर हिमाली चुस्ता दिइने भएको छ। खण्ड (घ) को क्रमसंख्या ६ मा यस्तो हेरफेर गरिएको हो।

नियमवालीको खण्ड (च) भने झिकिएको छ। खण्ड (च) झिकिएपछि सशस्त्र प्रहरी परिचरको लागि दिइने सामान तथा पोसाकमा ठूलो कटौती भएको छ। अनुसूची संशोधनपछि भएको यो नै सबैभन्दा ठूलो कटौती हो। खण्ड (छ) को क्रमसंख्या (२) को सिम्बोल नम्बर १ पछि सिम्बोल नम्बर ‘१क’ थपिएको छ। यसअन्तर्गत सबै स्वास्थ्य प्राविधिकलाई १ वर्षमा १ थान सेतो टेरिकन स्क्रब प्रदान गरिने छ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ०९:४५