२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

पूर्वराजा ज्ञानेन्द्र शाह चितवनमा, पटिहानीमा ७ दिन बिताउने

१३ पुस, काठमाडौँ । पूर्वराज ज्ञानेन्द्र शाह चितवन पुगेका छन । पूर्वराज शाहले पाँचतारे सुविधायुक्त ‘वेस्ट इन्ड रिसोर्ट’ पटिहानीमा ७ दिन बिताउने छन । उक्त रिसोर्टको व्यवस्थापन सोल्टी होटल काठमाडौँले सम्हाल्दै आएको छ । ज्ञानेन्द्रको अन्य कार्यक्रमका बारेमा केही जानकारी दिइएको छैन । यद्यपी उनले राप्रपाका स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्ने बताइएको छ ।

कतिपयले ज्ञानेन्द्र राप्रपाले अपेक्षाकृत चुनावी नतिजा निकालेकामा खुशी मनाउन चितवन पुगेको पनि बताएका छन । ज्ञानेन्द्रले राप्रपाले चुनाव जितेका क्षेत्रहरू सबै ठाउँमा घुम्ने इच्छा जाहेर गरेको बुझिएको छ ।

ज्ञानेन्द्र शाहले सात दिन बिताउने ‘वेस्ट इन्ड रिसोर्ट’ पटिहानी ।

देशका विभिन्न भागमा घुमेर सात देखि १० दिन सम्म बिताउने गरेका शाह मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राप्रपाले राम्रो नतिजा ल्याएपछि फेरि देश घुम्न निस्किएका हुन । केहीदिन अघिमात्र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सत्ताको उपयोग गर्न सुझाव दिएका ज्ञानेन्द्र चितवन पुगेका हुन । ज्ञानेन्द्र चितवन पुगेकै दिन राजावादी पार्टी भनिने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्तसहित सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

उनले दशैँको शुभकामा दिने समयमै राप्रपा र राष्ट्रवादी शक्तिका लागि मत दिन भन्दै अपिल गरेका थिए । राप्रपा अध्यक्षमा ज्ञानेन्द्रकै हस्तक्षेपका कारण आफू हारेको भन्दै कमल थापा पार्टी छाडेर गणतन्त्रवादी बन्दै एमालेको सूर्य चिन्हबाट चुनाव लड्न पुगेका थिए । पछिल्लो समय ज्ञानेन्द्र राप्रपाभित्र सुक्ष्म व्यवस्थापनमा लागेको सोही पार्टीका नेता कार्यकर्ताले बताउने गरेका छन ।

‘वेस्ट इन्ड रिसोर्ट’ पटिहानीको लविमा होटलका कर्मचारीसँग कुरा गर्दै ज्ञानेन्द्र शाह ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार २१:५६