१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

फेसबुकमा समाचार शेयर गर्दा अदालतकै कर्मचारीको जागिर चट् !

७ असोज, जनकपुर । फेसबुकमा समाचार शेयर गर्दा अदालतकै कर्मचारीको जागिर चट् भएकाे छ । प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको    असोज ३ गते संविधान दिवसकाे समाचारका लिंकहरु फेसबुकमा शेयर गरेकाेमा एक कर्मचारीलाई जागिरबाट हटाइएको छ ।

धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट हटाइएको हो । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई अाफ्नाे  फेसबुकमा शेयर गरेकी थिइन् ।

जागिरबाट हटेकी रायले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टिकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र थमाइएको बताइन् । ‘मैले त समाचार शेयर गरेकी हुँ, आफ्नो विचार त राखेको होइन ?’ रायले पत्रकार सम्मेलनमा भनिन्, ‘समाचार शेयर गरेर अपराधै गरेको भए त स्पष्टिकरण सोध्नुपर्थ्यो  नि ?’

उनले बिना स्पष्टिकरण सिधै जागिरबाट हटाएकोमा दुख लागेको बताइन् । अदालतले २०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको भनी पत्र थमाएको छ । रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको बताइन् ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार १२:३७