२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

प्रचण्ड निवासमा ओलीको २ घण्टा ३० मिनेटः ‘कौशीदेखि कोठासम्म-सुन्तलादेखि कफीसम्म’, यस्ता भए कुरा

१३ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनकै निवास खुमलटारमा पुगेर भेटेका छन । २ वर्षपछि प्रचण्ड निवासमा पुगेका ओलीले करिब २ घण्टा ३० मिनेट खुमलटारमा बिताए । कौशीदेखि कोठासम्म बसेर उनीहरूले वार्तालाप गरे । कौशीमा सुन्तला खाँदै र कोठामा कफी पिउँदै उनीहरूले सरकारको न्यूनत कार्यक्रमदेखि शक्ति बाँडफाँडको विषयमा कुराकानी गरे ।

पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए । उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’

दुई नेताबीच आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल भएको छ । यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो। उनीहरूबीच भोलि फेरि बालुवाटारमा सत्ता साझेदार दलको शीर्ष नेताहरुबीच बैठक बोलाउने समझदारी समेत बनेको छ । माधव नेपाललाई सरकारमा ल्याउने र मन्त्रालय भागबण्डाको विषयमा पनि नेताहरूको बीचमा सामान्य छलफल भएको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १४:११