१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

युएन मिसनमा जाने सशस्त्र प्रहरी कर्मचारीका लागि सेवा अवधिको मापदण्ड निर्धारण

१३ पुस, काठमाडाैँ । संयुक्त राष्ट्रसंघीय शान्ति मिशन फम्र्ड पुलिस यूनिट (एफपीयू)को रुपमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुको लागि सशस्त्र प्रहरी बल नेपालले कम्तिमा १५ बर्ष सेवा अवधि पुरा गरेको मापदण्ड निर्धारण गरेको छ ।

मिशनमा सहभागि हुने सशस्त्र प्रहरी कर्मचारीहरुको छनौट प्रक्रिया अझै निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधन गरिएको ‘यूएन एफपीयू मिशन छनौट निर्देशिका–२०७९’ले लामो समयसम्म सेवा अवधि पुरा गरी मिशनमा अवसर नपाएका कर्मचारीहरु बढी लभान्वित हुने सशस्त्र प्रहरीका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

छन् । यसअघि ‘यूएन एफपीयू मिशन छनौट निर्देशिका–२०७१’ अनुसार न्यूनतम ५ बर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीहरु समेत मिशनमा सहभागि हुँदै आएका थिए ।

पहिले सेवामा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीहरुले यस्ता प्रकारका अवसर पाउनुपर्छ भन्ने उद्देश्य र देशभरिका इकाईहरुमा कार्यरत कर्मचारीहरुबाट प्राप्त सुझाव अनुसार निर्देशिका परिमार्जन गरिएको हो । यसका साथै सशस्त्र प्रहरी कर्मचारीहरुले सशस्त्र प्रहरी बल नेपालले हालै मात्र लागू गरेको बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरण
सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य रुपमा उतिर्ण हुनुपर्ने छ ।

जस अनुसार उचाई अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यस अवसरबाट बञ्चित हुनुपर्नेछ । समान मितिमा भर्ना तथा पदोन्नती भएका कर्मचारीहरुको हकमा अभिलेखमा उल्लेखित भर्ना तथा पदोन्नतीको जेष्ठताक्रम अनुसार छनौट गर्ने प्रावधान राखिएको छ । मापदण्ड पुरा भई विभागीय कारवाही भएको भए कारवाही नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखि छनौट गरिने तर पछिल्लो भर्ना तथा पदोन्नती मिति भएका कर्मचारीहरुसँग छनौट गर्नुपर्ने भएमा यो प्रावधान लागू गरिने छैन ।

आचरण विपरित क्रियाकलाप गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त निर्देशिकामा तोकिएको अवधिसम्म मिशन छनौटमा बञ्चित गरिने छ । जसअनुसार १ पटक मात्र विभागीय सजाय पाएका कर्मचारीहरुको हकमा सजाय फुकुवा भएको मितिले १ वर्ष पुरा भएको हुनुपर्ने र २ वा सो भन्दा बढि सजाय पाएका कर्मचारीहरुको हकमा ७ वर्ष पुरा भएको हुनुपर्ने छ । साथै पदको जेष्ठतामा पर्नका लागि बढुवा फारम नभर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई ३ वर्षसम्म उक्त अवसरबाट बञ्चित गरिने छ ।

यसअघि बढुवा फारम नबुझाई सिनियर हुने र मिशन जान खोज्ने प्रवृत्ति देखिएको थियो । निर्देशिका अनुसार लगातार वा पटक पटक गरी १२ महिनाभन्दा बढी समय ड्यूटी गर्न नसक्ने भनि नेपाल एपीएफ अस्पतालका सम्बन्धित चिकित्सकको राय अभिलेखबाट देखिएमा मिशन छनौट प्रकृयामा त्यस्ता कर्मचारीलाई सहभागी गराइने छैन तर सशस्त्र प्रहरी कर्मचारी १२ महिनाभन्दा बढी ड्यूटीमा अनुपस्थित रहेको भए अनुपस्थित रहेको अवधि बराबर पूर्ण रुपमा ड्युटी गरेको भनि अभिलेखबाट देखिएमा तोकिएको मापदण्डको आधारमा मिशन छनौट प्रकृयामा सहभागि हुन सक्ने छन् ।

यस्तै एफपीयू प्रि–एफप्याट परिक्षामा सिनियर अधिकृतहरुलाई तोकिएको कोटाको दोब्बर संख्यामा सहभागि गराई उत्तिर्ण मध्येबाट दर्जागतको जेष्ठताको आधारमा छनौट गरिने छ । परिक्षामा अनुत्तिर्ण भई तोकिएको संख्या अपुग भएमा जेष्ठताक्रमको आधारमा निकट्तम जुनियरलाई परिक्षामा पुनः सहभागी गराई परिक्षा संचालन गरिने निर्देशिकामा उल्लेख छ । यसका साथै सशस्त्र प्रहरी निरीक्षकको हकमा तोकिएको संख्यालाई सत प्रतिशत मानी उक्त संख्याको ८० प्रतिशत खुल्ला भर्नाको जेष्ठताक्रमबाट र २० प्रतिशत भर्ना मितिको जेष्ठताक्रम अनुसार छनौट गरिनेछ ।

यसैगरी मिशन छनौट भएका अधिकृतले बिशेष कारण बाहेक (प्रसूति, क्रिया, विपद्) मिशनमा जान असमर्थता देखाएमा सम्बन्धित दर्जाको बैकल्पिक उम्मेद्वारलाई छनौट गरी यस्ता कर्मचारीको मनोनयन रद्द गरिने र यसरी रद्द भएको कर्मचारी सो वर्ष सञ्चालन हुने अनपोल (क्ब्ब्त्) परिक्षामा सहभागि हुन समेत पाउने छैन ।

मिशन छनौट पश्चात संचालन हुने तैनाथी पूर्व तालिममा सैद्धान्तिक एवं व्यवहारिक रुपमा लिईने स्तरपरिक्षामा अनुत्तिर्ण भएमा तथा सो तालिममा १५ दिनभन्दा बढि अनुपस्थित भएमा र आचरण विपरितको कार्य गर्ने  सशस्त्र प्रहरी कर्मचारीहरुको मिशन सहभागिता रद्द गरिने समेत निर्देशिकामा समेटिएको छ । यो निर्देशिका लागू भएसँगै भर्खरै सेवा प्रवेश गरेका सशस्त्र प्रहरी
कर्मचारीहरु मिशनमा सहभागी भईरहँदा लामो समय सेवा गर्ने कर्मचारीहरु सहभागिताबाट बञ्चित हुने लगायतका गुनासोहरु नआउने अपेक्षा संगठनले लिएको छ ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सन् २००३ डिसेम्बर १९ मा पहिलोपटक अफ्रिकी मुलुक लाईबेरियामा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयू) खटिएको थियो । अन्तर्राष्ट्रियस्तरमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको उच्च व्यवसायिकताले गर्दा पछिल्लो पटक अफ्रिकी मुलुक साउथ सुडानमा सन् २०१४ जनवरी १७ देखि यस्तै युनिट खटिइरहेको छ । अहिले उक्त मिशनमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा १ सय ८० जनाको टोली कार्यरत रहेको छ । हालसम्म सशस्त्र प्रहरी बल नेपालबाट ६१ वटा टोली गरी कुल ७ हजार ७ सय २४ जनाले शान्ति स्थापनार्थ मिशनमा सेवा प्रदान गरिसकेका छन् भने संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ पश्चिम अफ्रिकी मुलुक मालीको किडालमा हालै थप मिशनको रुपमा तैनाथीको लागि तयारी अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १२:०६