२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रधानमन्त्री पदकै कारण गठबन्धन टुट्न सक्ने संकेत

१० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।

पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् ।त्यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत दलका शीर्षनेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी राखेका छन् ।

गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने निर्णय गरेको छ । तर, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीका विषयमा टुंगो लागेको छैन । भावि प्रधानमन्त्रीका लागि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ ।

आइतबार बिहान खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ। भने आइतबार नै प्रचण्डको सचिवालयले सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेकाे छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् । यद्यपि, सत्ता गठबन्धनमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै लिन पहल गरिरहेको छ भने, माओवादीले पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेको छ । तर, गठबन्धनमा सरकारको नेतृत्व कसले लिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

शनिबार घनीभूत छलफलमा जुटेको गठबन्धनले कुनै निष्कर्ष निकाल्न सकेन । आइतबार बिहानैदेखि सरकार गठनका लागि सहमति जुटाउने गठबन्धनले प्रयत्न गरिरहेको छ । तर माओवादीको अडान र कांग्रेसको लचकतामा कमी नहुनुले सरकार गठनको विषय अन्योलमा परेको छ । देउवा प्रचण्ड दुबैले आफ्नो अडान नछाेड्ने हाे भने गठबन्धन टुट्न संकेत प्रष्ट देखिएकाे छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १३:०३