२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत

१० पुस, काठमाडाैं । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मनुभएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए । सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत थिए ।

उनी नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि हुन् । सत्तरी वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत आकाशयात्रामा जोडिएका थिए । स्व बस्नेतका दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरको प्रबन्ध निर्देशक हुन् । बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुलासमेत गरेका थिए ।

“हामीले एक असल अभिभावक गुमाए पनि उनले देखाएका बाटालाई बुद्धएयरकर्मीले सधैँ अनुशरण गरी अगाडि बड्नेछौँ, हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन’, बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार ०९:५८