२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले बाहेक दललाई के पद खान पाइन्छ भन्ने चिन्ता छः केपी शर्मा ओली

९ पुस, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई देशमा सिर्जना भएको राजनीतिक अस्थिरता, सामाजिक तथा साँस्कृतिक विचलन र भयावह आर्थिक अवस्थाका बारेमा चिन्ता रहेको वताउँदै सरकारमा जाने वा अरु दललाई समर्थन गर्ने हतारो नभएको स्पष्ट गर्नुभएको छ । अध्यक्ष ओलीले नेकपा (एमाले) सरकार गठनको दावी गर्न नसक्ने हैसियतको पार्टी होइन भन्दै तर, सरकार बनाउने मात्रै दौडमा एमाले छैन भन्नुभयो ।

उहाँले स्थिरता र स्थायित्व, देशको अवस्थामा सुधार,समाजलाई अनुशासनमा फर्काउने चाहना र राष्ट्रियताका सवालमा एमालेको धारणामा सहमत हुने दललाई समर्थन र सहकार्य हुनसक्ने वताउनुभयो ।
अध्यक्ष ओलीले सरकार गठनमा माओवादीलाई समर्थनको सम्भावनाका सन्दर्भलाई सङ्केत गर्दै भन्नुभयो– पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्णय गर्न ढिला गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा (एमाले) बाहेकका दलहरुलाई देशको अवस्थाका बारेमा नभई सरकार गठनको कर्मकाण्डमा के पद खान पाउँछु भन्ने मात्रै चिन्ता रहेको वताउनुभयो ।  सरकार गठनमा यस्तो अवस्था भई रह्यो, दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि नसोच्ने हो भने देश घुमिफिरी मध्यावधितिर पनि जानसक्ने भनाई अध्यक्ष ओलीको छ ।

नेकपा (एमाले) प्युठान–काठमाडौं सम्पर्क मञ्चद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मानका लागि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार गठनसम्बन्धी पार्टीको धारणा बताउनुभएको हो ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १६:११