२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

नवनिर्वाचित सांसदकाे शपथपछि एउटै सोफामा ओली र प्रचण्ड

७ पुस, काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका हुन्। नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले आयोजना गरेकाे चियापान समारोहमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भए।

संसद सचिवालयले आयोजना गरेको चियापानमा प्रधानमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणालगायत नेताहरू सहभागी थिए।

चियापानमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड एउटै सोफामा बसेका छन्। एउटै सोफामा बसेका ओली र प्रचण्ड हसिलाे मुद्रामा देखिएका छन् । उनीहरूले केहीबेर कुराकानी पनि गरेका थिए।

नेकपा भंग भएपछि एकअर्काबाट टाढिएका ओली र प्रचण्ड निर्वाचनको नतिजापछि संवादमा जाेडिएका छन् ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १४:५१