२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

आफैँ प्रधानमन्त्री बन्न लबिङ थालेका रामचन्द्र पाैडेल कसरी बने देउवाको प्रस्तावक ?

५ पुस, काठमाडौं । आफैँ प्रधानमन्त्री बन्न पार्टीभित्र तथा बाहिर लबिङ थालेका कांग्रेस नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन प्रस्तावक बसेका छन् । नेता पौडेलले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका गठबन्धनका शीर्ष नेताहरूलाई भेटेर आफूलाई प्रधानमन्त्रीमा सघाउन अनुरोध गरेका थिए ।

मंगलबार कांग्रेस संसदीय दलको नेता बन्न सभापति देउवालाई प्रस्ताव गरेका हुन् भने कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् । संसदीय दलको नेता बन्न कांग्रेस संस्थापनइतरका गगन थापाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस महामन्त्री समेत रहेका थापालाई डा. शेखर कोइरालाले प्रस्तावक बनेर साथ दिएका छन् भने समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा तथा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेल रहेका छन् ।कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदै छ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १७:१५