१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

८० केजी गाँजासहित पक्राउ परेका कांग्रेस नेता सूर्यबहादुर घर्ती अदालतबाट दोषी ठहर

४ पुस, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो ।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइर्’ गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । उहाँको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी विसं २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस–नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

यो पनि पढ्नुहोस् 

गाँजासहित बागलुङका वडाध्यक्ष घर्ती पक्राउ

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १०:०६