२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

हर्क साम्पाङविरुद्ध ६ दलको विज्ञप्तिः छद्मभेषीको अराजकता बढ्यो

३ पुस, काठमाडाैं । धरानका प्रमुख राजनीतिक दलहरूले नगरप्रमुख हर्क साम्पाङलाई सामूहिक नेतृत्वको अवधारणामा अघि बढ्न सुझाव दिएका छन् । आइतबार प्रमुख ६ राजनीतिक दलले विज्ञप्ति जारी गर्दै साम्पाङलाई समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न सुझाव दिएका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै साम्पाङलाई अराजक नबन्न सचेत गराएका हुन् । तीन दिनअघि बसेको नगरकार्यपालिका बैठकमा प्रमुख साम्पाङ कार्यपालिका सदस्यहरूविरुद्ध अराजक ढंगले प्रस्तुत भएकाले उनलाई सचेत गराउन विज्ञप्ति जारी गरिएको नेताहरूले बताएका छन् ।

 साम्पाङले यसअघि असोज १३ गतेको बैठकमा पनि नगरकार्यपालिका सदस्य अनुप देवानलाई बैठक कक्षबाट बाहिर निस्कन र राजीनामा दिन भनेका थिए । त्यसयता नगरप्रमुखले समस्या समाधानका लागि केही पहल पनि नगरेको दलहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनीहरूले हिजोको राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएको स्मरण गर्दै हिजोको आन्दोलनमा योगदान नभएका ‘छदमभेषी’ व्यक्तिले अराजकता मच्चाइरहेको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १४:४७