२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

संसदीय दलको चुनावअघि कांग्रेस सांसदलाई सरकारी खर्चमा भोज खुवाउँदै प्रधानमन्त्री देउवा

२ पुस, काठमाडौँ । कांग्रेस संसदीय दलको चुनाव अगावै  प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सरकारी खर्चमा कांग्रेस सांसदहरूका लागि भोज गर्ने भएका छन । उनले त्यसका लागि बधाई तथा शुभकामनाका लागि भन्दै नवनिर्वाचित सांसदहरुलाई शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरेका छन । समानुपातिक सांसदले सपथ लिएपछि कांग्रेसले लगत्तै संसदीय दलको चुनाव गर्ने बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले कांग्रेसका सबै सांसदलाई अपराह्न ३ बजे बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

कांग्रेसका सांसदहरू रात्री भोज गरेर बालुवाटारबाट फर्किने कार्यक्रम रहेको छ । देउवले संसदीय दलको नेतामा पुनः दोहोरिने चाहना राखेका छन । यद्यपी रामचन्द्र पौडेलदेखि गगन थापासम्मका चार जनाले आफूले पनि संसदीय दलमा उम्मेदवारी दिने बताइरहेका छन । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।

निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १०:४५