लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान र गुरुप्रसाद न्यौपानेलाई कारबाही गर्ने धितोपत्र बोर्डको निर्णय
१ पुस, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारवाही गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले लगानीकर्ता न्यौपाने र प्रधानलाई कारबाही गर्ने निर्णय गरेको हाे।
रिडी पावर कम्पनीका अध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष प्रधानमाथि कारबाही गर्ने निर्णय गरेको धितोपत्र बोर्डले जनाएकाे छ । रिडी हाइड्रोपावर कम्पनीका अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ साल चैतदेखि २०७८ साल भदौसम्म कम्पनीको सेयर किनबेच गरेका थिए ।
त्यस्तै नेपाल हाइड्रोवापर लिमिटेडको अध्यक्ष रहेकै समयमा प्रधानले समेत आफ्नो श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेका थिए।
न्यौपाने र प्रधानले कानुनविपरीत आफू सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको सेबोनले अनुसन्धानबाट खुलेकाे छ । धितोपत्र दर्ता निष्कासन नियमावलीमा कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ।
प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १५:२५












